युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका बेला देशमा चुनाव गराउनु निकै जोखिमपूर्ण हुने बताएका छन्। पूर्वरक्षामन्त्रीले चुनाव गराउनुपर्ने माग गरेपछि जेलेन्स्कीले यस्तो प्रतिक्रिया दिएका हुन्।
“यस्तो युद्धका बेला चुनाव गराउनु आफैँमा ठूलो जोखिम हो। अहिलेको अवस्थामा चुनाव गराउनु देशका लागि सुनामीसरह हुनेछ, जसले युक्रेनलाई विभाजित गर्नेछ”, जेलेन्स्कीले भने।
रुसी सेनाविरुद्ध युद्धमा केन्द्रित युक्रेनले ‘मार्शल ल’ लागू भएपछि चुनाव स्थगित गरेको छ। जनताले पनि अहिले चुनाव नगराउने निर्णयलाई व्यापक समर्थन गरेको बताइएको छ।
“यदि हामी देशलाई ध्वस्त पार्न चाहन्छौँ भने मात्रै युद्धका बेला चुनाव गराउने दिशामा अघि बढ्न सक्छौँ”, ४८ वर्षीय जेलेन्स्कीले भने।
उनले शनिबार एएफपीलगायत सञ्चारमाध्यमका पत्रकारसँग ब्रिफिङ गरेका थिए। विभिन्न राजनीतिक विवादबीच महिनौँपछि भएको यो पहिलो पत्रकार भेटघाट हो।
जेलेन्स्कीले पूर्वरक्षामन्त्री मिखाइलो फेडोरोभलाई पदबाट हटाएपछि युक्रेनमा राजनीतिक विवाद चर्किएको थियो। फेडोरोभले यसै साता चुनाव गराउने उपाय खोज्नुपर्ने माग गरेका थिए। यद्यपि, उनले त्यसका लागि कुनै ठोस कार्ययोजना प्रस्तुत गरेका थिएनन् ।
विशेषज्ञहरूले युद्धका बेला चुनाव गराउँदा सैनिक, विदेशमा रहेका लाखौँ युक्रेनी नागरिक तथा रुसी नियन्त्रणमा रहेका क्षेत्रका बासिन्दाले कसरी मतदान गर्ने भन्ने प्रश्न उठाएका छन्। साथै, रुसबाट हुन सक्ने गलत सूचना प्रवाहको जोखिम पनि रहेको उनीहरूको भनाइ छ।
‘किभ इन्टरनेसनल इन्स्टिच्युट अफ सोसियोलोजी’को सर्वेक्षणअनुसार केवल १५ प्रतिशत युक्रेनी नागरिक युद्ध समाप्त हुनुअघि चुनाव गराउने पक्षमा छन्।
ब्रिफिङका क्रममा जेलेन्स्कीले फेडोरोभको आलोचना गर्दै उनी “गलत दिशातर्फ अघि बढिरहेका वा कसैले त्यसतर्फ धकेलिरहेको” टिप्पणी गरे।
जेलेन्स्कीले विरोध प्रदर्शन गर्ने अधिकार सबैलाई भए पनि सैनिकप्रति अनादरपूर्ण व्यवहार नगर्न आग्रह गरे। उनले समाज र सेनाबीच विभाजन हुन नहुने बताउँदै यस्तो विभाजनले देशलाई थप जोखिममा पार्न सक्ने चेतावनी दिए। रासस


Published :भदौ ७, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media