सुपको विकासमा कार्ययोजना बनाउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री देउवा

राष्ट्रपाटी न्युज

२२ जेष्ठ २०७९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तीनै तहका सरकारको सहकार्यमा पछि परेका प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सुदूरपश्चिम सरोकार मञ्चको ११औँ साधारणसभाका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले मञ्चका हरेक प्रयास तथा सुझावहरू सङ्घीय सरकार र प्रदेश सरकारलाई विकास योजना तर्जुमा, कार्यान्वयन र मूल्याङ्कनमा सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले आफूले डोटीको उच्चकोट विद्यालयबाट एसएलसी पास गरेपछि उच्च शिक्षा अध्ययनका लागि धनगढीसम्म पैदल यात्रा गरेको सम्झना गरे । धनगढीसम्म पैदलयात्रा र त्यहाँबाट भारतको रेल चढेर रक्सौल हुँदै गाडी चढेर काठमाडौँ पुगेको स्मरण गर्दै प्रधानमन्त्री देउवा भने, “पहिलेको तुलनामा सुपमा धेरै विकास भएको छ । सुप केन्द्रीय राजधानीसँग यातायातले जोडिएको छ । तर, पनि धेरै सम्भावनाका बाबजुद अपेक्षाकृत विकास हुन सकेको छैन । पश्चिम सेती बनेमा यो प्रदेश विकसित र धनी बन्न सक्छ।”

यस क्षेत्रको गरिबी र असमानता हटाउन सरकारका प्रयाससँगै सबैको योगदान आवश्यक रहेको उल्लेख गर्दै उनले सुपको विकासका लागि कोसेढुङ्गा साबित हुने कञ्चनपुर सीमामा सुक्खा बन्दरगाह बनाउन भारतसँग सहमति भएको जानकारी गराए ।

तीव्र विकासका लागि बाह्य लगानी भित्र्याउनुपर्ने बताउँदै प्रधानमन्त्री देउवाले त्यसका लागि सरकारले सोही अनुसारका नीति अवलम्बन गरेको उल्लेख गरे । सुदूरपश्चिम प्रदेश मानव विकासको सूचाकाङ्कमा अगाडि आउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले यसका लागि सबैले आ–आफ्नो ठाउँबाट समन्वय र सहकार्य गर्न जरुरी रहेको बताए ।

सुदूरपश्चिम सरोकार मञ्चले विगत १६ वर्षदेखि सुप क्षेत्रको विकासका लागि विभिन्न प्रयास गर्दै आइरहेको छ । सुदूरपश्चिम प्रदेशको सर्वाङ्गीण विकासका लागि निःस्वार्थ भावले मातृभूमिप्रति आफ्नो कर्तव्य बहन गर्दै समग्र प्रदेशको विकासका लागि आवश्यक मार्गचित्र पुस्तक प्रकाशन गरेको छ ।

प्रधानमन्त्री देउवालाई मञ्चका तर्फबाट अध्यक्ष विष्णुप्रसाद खत्रीले सुपको विकास तथा समृद्धिका लागि सुझावसहितको ज्ञापनपत्र बुझाएका थिए ।


Published :२२ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media