जाजरकोटमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, घाइतेको उपचार गर्न गृहमन्त्रीको निर्देशन

राष्ट्रपाटी न्युज

२७ जेष्ठ २०७९

काठमाडौँ। जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नं ५ मा भएको यात्रुवाहक बोलेरो जीप दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टरबाट उद्धार गरी तत्काल उपचारको व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन् ।
गृह सचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई घाइतेको हेलिकोप्टरमार्फत तत्काल उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन ।
जाजरकोटका प्रजिअ शाहीले गृहमन्त्री खाणको निर्देशनपछि नेपाली सेनाको सुर्खेत कार्यालयसँग हेलिकोप्टरका लागि समन्वय भई कालिकोटमा रहेको हेलिकोप्टर उद्धारका लागि घटनास्थल नजिक पुग्दै गरेको जानकारी दिएका छन् ।
सर्खेतबाट जाजरकोट जाँदै गरेको क ०२–००१ च ०३४१ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको, ११ जना घाइते भएका छन् । उनीहरुमध्ये ५ जनाको गम्भीर घाइते भएको र चार जना सामान्य घाइते भएको प्रजिअ शाहीले जानकारी दिएका छन् ।
दुर्घटनामा जुनीचाँदे–६ का २१ वर्षीय दर्शन शाही, वडा नं। ५ का ४० वर्षीया पुतला गिरी र कालिका शाहीको मृत्यु भएको बताइएको छ ।
घाइते हुनेहरुमा जुनीचाँदे–६ का २० वर्षीय लालबहादुर बुढा, दैलेख गुराँस गाउँपालिका–७ का २५ वर्षीय टोपबहादुर थापा, जुनीचाँदे गाउँपालिका–६ का १३ वर्षीया विपना शाही, सोही ठाउँका ३९ वर्षीय विष्णुबहादुर शाही, १३ वर्षकी समिक्षा शाही, ३४ वर्षीया कालिका शाही, ३० वर्षका नरबहादुर शाही, १४ वर्षीया सविता शाही, ८ वर्षीया नमुना सिंह रहेको प्रहरीले जनाएको छ ।


Published :२७ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media