शहरी विकास मन्त्रालयका योजना मन्त्रीका निर्वाचन क्षेत्रमा मात्रः सांसद महत

राष्ट्रपाटी न्युज

२९ जेष्ठ २०७९

काठमाडौं । जुम्लाका सांसद गजेन्द्रबहादुर महतले शहरी विकास मन्त्रालयको बजेट नेता र मन्त्री उन्मुख भएको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

सांसद महतले शहरी विकास मन्त्रालयका धेरैजसो योजना मन्त्रीका निर्वाचन क्षेत्रमा मात्र पुगेको आरोप लगाए । उनले भने- ‘हामीलाई असाध्यै हेपेर योजना बनाइएको छ । कहाँबाट कर्मचारीलाई कमिसन खुवाएर हो वा के भएर हो (कर्णालीमा) ५–६ वटा छिरेको छ ।’ उनले भने, ‘जो जो पावरफुलमन्त्री छन्, उनीहरुकोमा गन्नै नसकिने योजना छ ।’

शहरी विकास मन्त्रालयको योजना मन्त्रीहरुको सेटिङमा बनेको आरोप उनले लगाए । उनले भने, ‘शहरी विकासका योजना मन्त्रीहरुको सेटिङमा बनेको छ । यसो हेर्दा मन्त्रीको आयु अनुसारको योजना बनेको पनि देख्छु।’

माओवादी केन्द्रका सांसद महतले दुर्गमका बिरामीलाई अस्पतालसम्म आउँदाको यातायात खर्चमा अनुदान दिनुपर्ने माग गरे । कर्णालीबाट काठमाडौंसम्म उपचार गर्न आउँदा ४०–५० हजार खर्च हुने गरेको भन्दै मन्त्री महतले यो भाडामा ५० प्रतिशत वा २५ प्रतिशत अनुदान दिनुपर्ने बताए ।

काठमाडौंमा बस्ने मन्त्रीहरुले दुर्गमको पीडा नबुझेको गुनासो उनले गरे । उनले भने, ‘तपाईहरु त जुन हस्पिटल गए पनि भइहाल्यो रोजीछाडी छ, मेडिसिटी जानुहुन्छ कि, वीर, टिचिङ, पाटन जानुहुहुन्छ कि ? हामीलाई कहाँ छ ?’ उनले भने, ‘मुगुबाट जुम्ला आउन २५-३० हजार भाडा बुझाउनुपर्छ, जुम्लाबाट काठमाडौं आउँदा ४०–५० हजार खर्च हुन्छ । त्यो भाडा कसले व्यहोर्ने ?’

सांसद महतले दुर्गमका वासिन्दाले घरखेत बेचेर उपचार गर्छु भन्दा पनि नपाउने भन्दै सरकारप्रति रोष प्रकट गरे ।

‘हाम्रो त घरखेत पनि किन्दैनन् । तपाईहरुको काठमाडौंको जग्गा पो आँखा कान चिम्लेर किन्छन्, हाम्रो जग्गा त किन्दा पनि किन्दैनन्’ उनले भने, ‘हुनत नीति तथा कार्यक्रम गइहाल्यो, बजेट बनिहाल्यो, तर अहिले सुनाउँदा भोलिसम्म तपाईहरुको दिमागमा आउँछ कि ? दुर्गम क्षेत्रका मान्छेलाई ५० प्रतिशत वा २५ प्रतिशत बिरामीले भाडा पाउनुपर्‍यो ।’


Published :२९ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media