क्यानडाका प्रधानमन्त्री दोस्रोपटक कोरोना संक्रमित

राष्ट्रपाटी न्युज

३१ जेष्ठ २०७९

ओटावा । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउ कोरोना संक्रमित भएका छन् । उनलाई यो दोस्रोपटक कोरोना भाइरसको संक्रमण भएको जनाइएको छ ।

प्रधानमन्त्री जस्टिनले सोमबार आफूलाई कोरोनाभाइरस संक्रमण भएको र यो दोस्रोपटक संक्रमण भएको ट्विटरमार्फत जानकारी गराएका हुन् । उनले आफूलाई कोरोना भाइरसको संक्रमण भए पनि त्यस्तो कुनै स्वास्थ्य समस्या भने नदेखिएको बताएका छन् ।

उनले ट्विटमा लेखेका छन्, “मैले कोरोनाभाइरसका विरुद्धको सबै मात्रा खोप लगाएको छु । त्यसैले मलाई कुनै असर देखिएको छैन । त्यसैले तपाईंहरू पनि सबैले यो खोप लगाउनुहोला ।”

गएको हप्ता मात्र उनले अमेरिकी सहर लस एन्जेलसको भ्रमण गरेका थिए । त्यसक्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसहित अरू पनि केही अमेरिकी अधिकारीसँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री जस्टिनको कार्यालयका अनुसार उनी आइतबार अमेरिकाबाट स्वदेश फर्किएका थिए । सोमबार पूर्वनिर्धारित बैठकमा सहभागी भए ।

उनलाई कुनै पनि स्वास्थ्य समस्या नदेखिएको भए पनि केही दिन जनस्वास्थ्यका मापदण्डहरू पालना गर्दै घरमै एकान्तमा रहेर कार्यालयको काम गर्नेछन् । (रासस/सिन्हवा)


Published :३१ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media