सुडानको डार्फर क्षेत्रको हिंसात्मक आक्रमणमा परी १०० जनाको मृत्यु

राष्ट्रपाटी न्युज

३१ जेष्ठ २०७९

काठमाडौँ । अफ्रिकी मुलुक सुडानको डार्फर क्षेत्रमा पछिल्लो एक हप्तामा झण्डै १०० मानिस मारिएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय निकायले सार्वजनिक गरेको विवरणअनुसार सुडानको पश्चिमी डार्फर क्षेत्रमा हिंसात्मक आक्रमणमा १ सय भन्दा धेरै मानिस मारिएका हुन् ।

डार्फरको कुल्बुसमा लामो समयदेखि हिंसात्मक घटना हुँदै गएकाले त्यसैमा परेर उनीहरुको मृत्यु भएको राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी निकायले जनाएको छ ।

स्थानीय अरब लडाकुले विभिन्न गाउँमा आक्रमण गर्दै आएका छन् । निरन्तर आक्रमणका कारण हजारौँ मानिस विस्थापित पनि भएको जनाइएको छ । राष्ट्रसङ्घीय अधिकारीले हिंसात्मक घटना निरन्तर भइरहेकाले मानवीय क्षति पनि भइरहेको बताएका छन् ।

उनीहरुले हिंसा अन्त्य गर्नेगरी तत्काल समस्या समाधानका उपाय खोज्न पनि सरोकारवालालाई आग्रह गरेका छन् । जनताको जीवन रक्षाका लागि स्थानीय अगुवा, अधिकारप्राप्त व्यक्ति, सुरक्षाकर्मीलगायत सबैले ध्यान दिनुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् ।

डार्फर क्षेत्रमा सन् २००३ देखि गृह युद्ध भइरहेको छ । तत्कालिन राष्ट्रपति ओमर अल बशिर विरुद्ध सुरु भएको द्वन्द्व अहिले पनि चलिरहेको छ । राष्ट्रपति बशिरलाई भने सन् २०१९ को अप्रिलमा अपदस्थ गरिएको थियो । त्यसपछि भएका विभिन्न सहमती तथा सम्झौता पालना नभएकाले द्वन्द्व चलिरहेको बताइएको छ । (रासस)


Published :३१ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media