संसद बैठक छलेर एनआरएनकाे कार्यक्रममा प्रधानमन्त्री देउवा गएपछि सांसदहरू आक्राेशित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा कार्य व्यस्तता देखाएर बिहीबार संसदमा अनुपस्थित भएपछि विपक्षी दलका नेताहरुले उनीविरुद्ध खेद प्रस्ताव पारित गर्नुपर्नेसम्मको आक्रोश व्यक्त गरेका छन् ।

कार्य व्यवस्ताका कारण अनुपस्थित भएको व्यहोरासहितको पत्र संसद सचिवालयमा पठाएका देउवा आफू भने एनआरएनले आयोजना गरेको होटल -याडिसनको कार्यक्रममा पुगेर भाषण गरेका छन् ।

प्रधानमन्त्रीको नेतृत्वमा रहेका मन्त्रालय, विभागलगायतका बजेटमाथिको छलफलमा भाग लिइरहेका एमालेका नेता भिम रावलले भने, ‘प्रधानमन्त्री कार्यव्यस्तता भयो भनेर -याडिसन होटलको सेमिनारमा जानुहुन्छ । यस्तो लोकतन्त्रविरोधी र गैर जिम्मेवार गतिविधि हो भनेर प्रतिनिधिसभाबाट खेद प्रस्ताव पारित गर्ने कुरामा मन्त्री सहमत हुनुहुन्छ कि हुनुहुदैन ।’

नेता रावलले प्रधानमन्त्री देउवाका तर्फबाट छलफलमा उठेका प्रश्नहरुको जवाफ दिइरहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रधानमन्त्रीविरुद्धको खेद प्रस्ताव राख्ने कि नराख्ने भनेर प्रश्न गरेका हुन् । त्यसपछि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि प्रधानमन्त्रीले संसद बेवास्ता गरी कुन महत्वपूर्ण कार्यक्रममा जानुभएको हो भन्दै जानकारी मागेका थिए ।

यसअघि पनि प्रधानमन्त्रीका तर्फबाट जवाफ दिनु भन्दा पहिले बालकृष्ण खाँण समक्ष रावलले प्रधानमन्त्री सिकिस्त बिरामी भएर गएको अस्पतालको नाम सार्वजनिक गर्नुपर्ने माग पनि राखेका थिए । उनीसहित सुवालले पनि यही प्रश्न राखेपछि सभामुखले प्रधानमन्त्रीले संसद सचिवालयका महासचिवलाई सम्बोधन गरेर लेखेको पत्र पढेर सुनाएका थिए ।

‘प्रधानमन्त्री कार्यालयको जवाफ दिन नसक्ने प्रधानमन्त्रीलाई त्यो पदमा बसिरहन नैतिकताले दिन्छ?’, रावलले प्रश्न गरे, ‘कम्तीमा न्यूनतम नैतिकता प्रदर्शन गरेर आफ्नो मन्त्रालय र कार्यालयबारे उठेका प्रश्नहरुको जवाफ दिनुहोस् । उहाँ कुनै विदेशीसँग वार्तामा हुनुहुन्छ कि कुनै देशको राजदूतसँग वार्तामा हुनुहुन्छ जानकारी हुनु पर्छ ।’

प्रेस सुवालले संसदमा जवाफ दिन सट्टा भर्ना पठाउने बन्दोबस्ती ठीक नभएको भन्दै टिप्पणी गरेका थिए । ‘बालुवाटार र सिंहदरबारबाट संसद ५-५ मिनेटको बाटो हो । कुनै विदेशी शक्तिले आडभरोसा दिएर आउन रोकेको छैन । प्रधानमन्त्रीलाई बोलाऔं । बैठक स्थगित गरौं ।’


Published :२ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media