असार ९ गतेदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने

काठमाडौँ । सरकारले यही असार ९ गतेदेखि पाँचदेखि १२ वर्षमुनिका ३९ लाख बालबालिकालाई कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउने भएको छ ।

पाँच वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको प्रभावकारिता नेपालमा ९१ प्रतिशत रहेको छ ।

स्वास्थ्य सेवा विभाग र नेपाल स्वास्थ्य पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ विरुद्धको भ्याक्सिन प्रवद्र्धन तथा रोकथाम नियन्त्रण’ सम्बन्धी अन्तरक्रियामा परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत सञ्जय महासेठले खोपको प्रभावकारिता ९१ प्रतिशत र सुरक्षित रहेको बताए ।

विभागले खोप विद्यालयमा नै गएर लगाउने भएको छ । उनले खोप लगाउनका लागि खोप केन्द्रमा एक तालिम प्राप्त स्वास्थ्यकर्मी राख्ने जानकारी दिए ।

उनले खोप लगाएमा बालबालिका केही असर देखिने भएकाले खोप केन्द्रमा नै उपचारको व्यवस्था गरिएको बताए । “खोप लगाएपछि बालबालिकामा केही असर देखिए हामी त्यही अनुसन्धान गर्दछौँ” उनले भने, “असरलाई स्वास्थ्यकर्मीले उपचार गर्दछन् ।”

खोप लगाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, सुइँ लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या हुने गर्दछन् । २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ ।

यस्तै, दोस्रो चरण ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ ।

पाँच वर्षदेखि १२ वर्षमुनिका उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रका आधारमा खोप लगाइने छ । यस्तै, विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजको अभिभावकले स्वः घोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइनेछ ।

विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले खोप सुरक्षित र प्रभावकारिता रहेकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई खोप लगाउन आग्रह गरे ।

खोप एक स्थानीय तहलाई एकै चरणमा सम्पन्न गर्ने गरिने छ । खोप केन्द्र तोकिएका विद्यालय र अभियानको अन्तिम दिन सबै स्वास्थ्य संस्थामा खोप लगाइनेछ ।

परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले विद्यालय बाहिर रहेका बालबालिकालाई पनि खोजी खोजी खोप लगाइने बताए । खोप सरकारलाई कोभ्याक्सले  निःशुल्क उपलब्ध गराएको हो ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा भक्त केसीले खोपले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने बताए ।

खोप केन्द्रमा कम्तीमा एकजना खोप दिने स्वास्थ्यकर्मी र थप लक्षित सङ्ख्याको आधारमा स्वास्थ्यकर्मी तथा दुईजना स्वयंसेवक र प्रति २०० थप लक्षित सङ्ख्याको लागि थप एक जना स्वयंसेवक परिचालन गरिने छ ।

पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई खोप लगाइनेछ । प्रदेश–१ को  झापा, इलाम, सुनसरी, मोरङ, मधेश प्रदेशको  सप्तरी, सिराहा, धनुषा, महोत्तरी र पर्सा, बागमती प्रदेशको  मकवानपुर, सिन्धुली, चितवन, काभ्रेपलानचोक, काठमाडौँ, भक्तपुर, र ललितपुरका विद्यालयका बालबालिकालाई खोप लगाइनेछ ।

गण्डकी प्रदेशको  कास्की र नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके र बर्दिया, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाइनेछ ।


Published :३ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media