बालबालिकालाई लगाउन अमेरिकाद्वारा नेपाललाई २२ लाख खोप सहयोग

काठमाडौँ । अमेरिकाले नेपाललाई २२ लाख मात्रा कोरोना खोप सहयोग गर्ने भएको छ । सो खोप बालबालिकालाई लगाउन दिइएको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

अमेरिकी दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ- ‘५ देखि ११ वर्ष सम्मका बालबालिका लक्षित यी अत्यन्त प्रभावकारी, जीवन रक्षक खोप अमेरिकी जनताको उदारतामार्फत प्रदान गरिएका हुन् र यी खोप हालसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल–मात्रा खोपको १५ लाख मात्रामा थपिने छन् ।’

अनुदानले अमेरिका र नेपालबिचको ७५ वर्ष लामो कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास दूतावासले लिएको छ ।

‘कोभिड–१९ महामारीको सुरुवातदेखि नै यस विरुद्ध लड्न, अत्यावश्यक स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्न र यस महामारीका सामाजिक तथा आर्थिक प्रभावहरू – विशेषतः शिक्षा र जीविकोपार्जनमा – न्यूनीकरण गर्न नेपाललाई मद्दत गर्न अमेरिकी सरकारले नेपाल सरकारसँग प्रत्यक्ष रूपमा काम गर्दै आएको छ,’ दूतावासले भनेको छ ।

बाल फाइजर खोप अभियानको तयारी स्वरूप अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडीले उक्त खोप लगाउने विषयमा ५६ जिल्लाहरूमा अग्रपङ्क्तिका स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षण प्रदान गर्नस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सहयोग गरेको थियो ।

विश्वव्यापी रूपमा अमेरिकाले ११५ विकासोन्मुख देशहरूलाई १ अर्ब १० करोडभन्दा बढी कोभिड–१९ खोप अनुदान स्वरुप उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो। अमेरिकाले ५० करोडभन्दा बढी मात्रा उपलब्ध गराइसकेको छ ।

चार अर्ब अमेरिकी डलरको योगदान गर्ने अमेरिका विश्वव्यापी खोप पहल कोभ्याक्सको सर्वाधिक ठुलो द्विपक्षीय दाता पनि हो ।


Published :५ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media