काठमाडौं । सरकारले आम उपभोक्ताको ढाड सेक्नेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै विभिन्न सरोकारवाला पक्षले विरोध जनाएका छन् ।
उनीहरुले तत्काल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने पनि माग गरेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले ‘पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुलगायतमा भइरहेको निरन्तरको मूल्यबृद्धि र आमजनस्तरमा यसको प्रभावको विषयमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै विद्यार्थी संगठनका नेताहरु, यातायात व्यवसायी र उपभोक्ता अधिकारकर्मीहरुले सरकारले जनतालाई मार्ने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै विरोध जनाएका हुन् । उनीहरुले तत्काल मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा उत्रिने पनि चेतावनी दिएका छन् ।
साक्षात्कारमा बोल्दै यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष विजय स्वाँरले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सार्वजनिक यातायात चल्न नसक्ने अवस्थामा पुगेको टिप्पणी गरे । उनले आफूहरु गाडी व्यवसायीमात्र नभएर त्योभन्दा पहिला नागरिक भएको बताउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सार्वजनिक यातायातमा धेरै नै असर गरेको गुनासो गरे ।
विश्वभर सार्वजनिक यातायातमा सरकारको लगानी हुने भन्दै नेपालमा भने सरकारको तर्फबाट कुनै लगानी नभएको उनको टिप्पणी छ । उनले नयाँ गाडी आयात हुने अवस्था नभएको र पुरानो गाडी पनि चलाउन नसक्ने अवस्थामा व्यवसायी पुगेको टिप्पणी गर्नुभयो । गाडी भाडाभन्दा पनि सर्वत्र मुल्यवृद्धिले नागरिकको जीवनयापनमा समस्या भएको उनको गुनासो छ ।
सार्वजनिक यातायाताको भाडा बढेपछि अरुको नबढ्ने भन्दै उनले अन्यमा भाडा बढेमात्र सार्वजनिक यातायातको भाडा बढ्ने स्पष्ट पार्नुभयो । निजी क्षेत्रका सबै व्यवसायीहरु एकजुट भएर लड्नुपर्ने दिन आएको भन्दै अब यातायात व्यवसायी र विद्यार्थीहरु पनि मिलेर पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई राष्ट्रिय समस्याको रुपमा लिएर यसको दीर्घकालिन समाधानतर्फ लाग्नुपर्ने बताए ।
त्यस्तै, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आफूले विगत ४० वर्षदेखि उपभोक्ता अधिकारकै क्षेत्रमा निरन्तर काम गरेको उल्लेख गर्दै पछिल्लो समयमा बढेको महँगी सबैभन्दा बढी भएको बताए । विद्यार्थीहरुले गर्दै आएको आन्दोलन आजसम्म राजनीतिक फाइदाको लागिमात्र भएको उनको टिप्पणी छ ।
यसअघि २०७६ सालमा विश्वभरनै पेट्रोलियम पदार्थको मूल्य धेरै नै घटेको स्मरण गर्दै नेपालमा भने त्यतिवेला मूल्य नघटाइएको उनले स्मरण गराए । उनले त्यतिवेला नेपालका कुनै पनि विद्यार्थी संगठनले आन्दोलन वा विरोध नगरेको बताए । उनले पेट्रोलियम पदार्थको मुल्यवृद्धि युक्रेनको कारण नभइ सरकारको कारणले भएको आरोप लगाए ।
यातायात व्यवसायीले आज नै भाडा बढाएर खुशी भएको भन्दै उनले जिविका गरेर खाने जनतालाई मूल्यवृद्धिमा समस्या सुरु भएको जिकिर गरे । नेपालमा पछिल्लो समयमा रोजगारीको समस्या र आम्दानी कमी भइरहेको तर महंगी बढ्दै गएकोमा उनले चिन्ता व्यक्त गरे ।
नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष नरेश रेग्मीले पेट्रोलियम पदार्थको मूल्य बढ्दा जनताको जीवनमा प्रत्यक्ष असर परेको दाबी गरे । पेट्रोलियम पदार्थको चर्को मुल्यवृद्धिले जनता आत्तिएको भन्दै उनले यसले देशमा आर्थिक संकट आएको समेत टिप्पणी गरे ।
अन्तर्राष्ट्रिय पेट्रोलियप पदार्थको मूल्यवृद्धिलाई समायोजन गरेको भन्दै सरकार पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट उम्किन नपाउने जिकिर गर्दै रेग्मीले सरकारले केही कर हटाएर भए पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने बताए । पेट्रोलियम पदार्थको मुल्यवृद्धि अन्तर्राष्ट्रियस्तरमै बढिरहेको भन्दै उनले सरकारले विभिन्न कर घटाएर भएपनि जनतालाई राहत दिनुपर्ने माग गरे । उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध अनेरास्वविय क्रान्तिकारी सडकमा आउने पनि चेतावनी दिए ।
त्यसैगरी, अनेरास्ववियुका महासचिव समिप बडालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आन्दोलन गर्ने बताए । तर, अहिले देशमा सरकार नै नभएको महसुस जनताले गरिरहेको पनि उहाँको टिप्पणी छ । उनले सरकार खोज्न पनि सडकमा आउने बताए । सरकारले जनताप्रति कुनै चासो नदिएको आरोप लगाउँदै उनले अब जनतालाई पेट्रोलियम पदार्थमा सरकारले राहत दिनुपर्ने माग गरे ।