काठमाडौंका सातजनामा हैजा संक्रमण, स्वास्थ्यप्रति सचेत रहन अनुरोध

काठमाडौं । काठमाडौंका सातजनामा हैजाको संक्रमण भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

हैजा फैलन सक्ने भन्दै त्यसतर्फ सचेत हुन र पानी उमालेर मात्र पिउन तथा बासी सडेगलेका खाना नखान महाशाखाले सबैमा अनुरोध गरेको छ ।

गत हप्ताको बिहीबार चटपटे खाएपछि विरामी परेका बागवजारका दुई दिदी बहिनीमा आइतबार पहिलोपटक हैजा भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

हैजाबाट संक्रमित पाँच जनाको शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा उपचार भैरहेको अस्पतालले जनाएको छ ।

टेकु अस्पतालकी निर्देशक मनिषा रावलले उच्च मृत्युदर रहेको हैजाको विरामी बढ्दै गएकाले खानपानमा ध्यान दिनुपर्ने, पानी उमालेर मात्र खान र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन दिइन् ।

हैजा पनि झाडापखला जस्तै हुने भएपनि चौलानी जस्तै पातालो दिशा लगातार भएमा र मांशापेशी दुखेमा तत्काल अस्पताल जान पनि निर्देशक रावलले अनुरोध गरिन् ।

काठमाडौंको बागवजारमा पहिलोपटक हैजा देखिए पनि हाल कपन, बालाजु, बोहोरेटार, बल्खु, सानेपा, डिल्लीबजारका विरामीमा हैजा संक्रमण देखिएको छ ।


Published :१० असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media