भारी वर्षाका कारण पोखरामा ३०० बढी घर डुबानमा

कास्की । शुक्रबार राति देखि परेको भारी वर्षाका कारण पोखरा महानगरपालिका–२५ हेम्जाका ३०० भन्दा बढी घर डुबानमा परेका छन् ।

वर्षापछि हेम्जाको सुइखेतस्थित चौरासी नहर फुटेर पानी बस्तीमा पस्दा सुन्दरीचोक र म्याग्दीचोकका घर डुबानमा परेको सोही वडाका वडाध्यक्ष मोतिराज तिमिल्सिनाले जानकारी दिए ।

पहिराले स्थानीय लक्ष्मी विक र रविना परियारको घर पूर्णरुपमा क्षति गरेको र थप १५ घर उच्च जोखिममा परेको छ । डुबान र पहिराका कारण ५०० हाराहारीमा मानिस विस्थापित भएको तिमिल्सिनाले बताए ।

बस्तीमा बाढी पस्न थालेपछि राति नै स्थानीय वासिन्दा सुरक्षित स्थानतर्फ  गएका थिए ।

उनले भने, ‘भारी वर्षापछि नहर फुटेर बस्तीमा पस्दा र खहरे खोला उर्लिएर आउँदा घर डुबानमा परेका छन् । पहिराले दुई घर र कृषि र पशुपक्षीतर्फ धेरै क्षति पुर्‍याएको छ।’

शुक्रबार राति सुरक्षित स्थानतर्फ गएकाहरु स्थानीय विद्यालय, मन्दिर तथा आफन्तकोमा आश्रय लिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले क्षतिको विवरण सङ्कलन भइरहेकाले यकिन विवरण आउन बाँकी रहेको बताए ।


Published :११ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media