हिमालयन हाइड्रोको आइपिओ खुल्यो

राष्ट्रपाटी न्युज

असार १५, २०७९

काठमाडौँ । हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशनको बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिशेयर १०० मूल्यका दरले नौ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेकामा दुई लाख ८१ हजार ७५० कित्तामात्र बाँडफाँट भएको र बाँकी ६ लाख १८ हजार २५० कित्तासहित कूल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।

कम्पनीले निष्काशन गर्ने कूल शेयरमध्ये ३९ हजार ३६५ कित्ता कम्पनीका कर्मचारी र ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ । त्यसपश्चात बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता शेयरमा सर्वसाधारणले असार १९ गतेसम्म आवेदन दिन पाउने तथा निष्काशनबमोजिम माग नआए ढिलोमा असार २९ गतेसम्म कम्पनीको आइपिओ बिक्री खुला रहने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा एक हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै ‘मेरो शेयर’ एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


Published :असार १५, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media