युद्धविराम लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी रहेसम्म वार्ताको औचित्य नहुने इरानी अडान

राष्ट्रपाटी न्युज

बैशाख ९, २०८३

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धविरामको अवधि थप गर्ने घोषणा गरेका छन् । तेहरानलाई युद्ध अन्त्यका लागि ठोस प्रस्ताव ल्याउन थप समय दिने उद्देश्यले प्रस्तावित सैन्य आक्रमणलाई तत्कालका लागि रोक्न निर्देशन दिएको ट्रम्पले उल्लेख गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत निर्णय सार्वजनिक गर्दै ट्रम्पले पाकिस्तानी मध्यस्थकर्ताको आग्रहमा यो कदम चालिएको बताएका छन् । यसअघि तय गरिएको युद्धविरामको समयसीमा बुधबार सकिँदै थियो ।

तर, इरानी अधिकारीले अमेरिकी जलसेनाले गरेको सामुद्रिक नाकाबन्दीको निन्दा गर्दै बुधबारका लागि तय भएको वार्तामा बस्न नसकिने संकेत गरेपछि ट्रम्प लचक देखिएका हुन् ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले युद्धविराम लम्ब्याउन राजी भएकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् । इस्लामावादले यो द्वन्द्वलाई वार्ताको माध्यमबाट समाधान गर्न निरन्तर पहल गर्ने बताएका छन् ।

इरानले भने ट्रम्पको यो पछिल्लो घोषणाप्रति आधिकारिक प्रतिक्रिया जनाएको छैन । त्यहाँको अर्ध–सरकारी समाचार संस्था तस्निमका अनुसार तेहरानको आधिकारिक धारणा केही समयपछि सार्वजनिक गरिनेछ । यद्यपि इरानले यसअघि नै अमेरिकी नाकाबन्दी नहटेसम्म वार्ताको औचित्य नहुने प्रतिक्रिया दिएको थियो । (एजेन्सी)


Published :बैशाख ९, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media