काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।
वामपन्थी एकताको अभियान सञ्चालन गर्ने घोषणा गरेका गौतम एमाले अध्यक्ष ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका हुन् ।
नेकपा विभाजन हुनुमा प्रचण्ड, माधव नेपाल र झलनाथ खनालसँगै गौतमको पनि भूमिका रहेको अध्यक्ष ओलीले बताउँदै आएका बेला यी दुई नेताबीच भेटवार्ता भएको हो ।
भेटमा गौतमले सकेसम्म वाम एकीकरण, एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्ने प्रस्ताव ओलीलाई राखेको स्रोतले बताएको छ । गौतमले अन्य वामपन्थी नेताहरुसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।
नेकपा एकता अभियान चलाउँदै आएका गौतमले केही दिनअघि आफ्नै संयोजकत्वमा ७५ सदस्यीय केन्द्रीय समिति रहेको ‘नेकपा एकता राष्ट्रिय अभियान’ नामको पार्टी घोषणा गरेका थिए ।