नेपाल र क्यानडाको स्थानीय क्लबबीच आज अभ्यास खेल हुँदै

काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोली र क्यानडाको स्थानीय क्लबबीच आज अभ्यास खेल हुने भएको छ । घरेलु टोलीसँगको एकदिवसीय सिरिजका लागि क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले त्यहाँको स्थानीय क्लब ओन्टारियोसँग अभ्यास खेल खेल्न लागेको हो  ।

सो खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुने एजेन्सीहरुले जनाएका छन् । नेपालका पूर्व राष्ट्रिय क्रिकेटर नरेश बुढाऐरको कप्तानीमा नेपाल मैदानमा उत्रनेछ । यसपछि नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्ने कार्यतालिका रहेको छ ।

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ४ र दोस्रो एकदिवसीय जुलाई ५ मा हुने भएको छ । त्यसपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टूअन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । नेपालले स्कटल्याण्डमा लिग टू अन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्नेछ ।

क्यानले क्यानडा र स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । नेपाली टिममा सन्दीप लामिछाने, रोहित पौडेल, कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र बिनोद भण्डारी रहेका छन् ।


Published :१७ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media