तरकारीको अचाक्ली मूल्यवृद्धिले उपभोक्ता मारमा

राष्ट्रपाटी न्युज

असार १८, २०७९

सुदूरपश्चिम । पछिल्ला महिनामा खाने तेल, साग, तरकारीलगायत उपभोग्य वस्तुको अचाक्ली मूल्यवृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । मूल्य वृद्धिले विपन्न वर्गलाई बढी असर पुर्‍याएको छ । मूल्य वृद्धिसँगै कमजोर आर्थिक अवस्था भएका विपन्न परिवारलाई साँझ बिहान पकाएर खानुपर्ने तरकारीको जोहो कसरी गर्ने भन्ने चिन्ता बढेको छ ।

यस्तै खाने तेलको मूल्य पनि महिनैपिच्छे वृद्धि भइरहेको छ । दुई महिनाअघि प्रतिलिटर रु ३५० मूल्य रहेको यो तेलको मूल्य हाल रु ३६० पुगेको छ । तोरी पर्याप्त मात्रामा नपाउँदा बढेको तोरीको मूल्यसँगै तेलको मूल्य पनि वृद्धि गर्नुपरेको तेल उत्पादक व्यापारीको भनाइ छ । दुई महिना अघिसम्म प्रतिकिलो रु ६० देखि रु ७० पर्ने गाेलभेँडाको मूल्य बढेर अहिले रु १६० पुगेको छ ।

यसैगरी प्रतिकिलो भिन्डी रु ७०, काउली रु ९०, रायो रु १००, घिउसिमी रु ७०, तनेबोडी रु १०० नयाँ आलु रु ६० र पुरानो आलु रु ३५ पुगेको छ । यस्तै प्रतिकिलो हरियो खुर्सानी रु १५०, लौका र फर्सी रु ४० देखि ५० पुगेको छ । लौका र फर्सीको मूल्य स्थिर रहे पनि अन्य उपभोग्य वस्तुको मूल्य बढेको उपभोक्ताले बताएका छन् ।

साग र तरकारीको चर्को मूल्य वृद्धिसँगै यसको कारोबार व्यापारीले किलोमा भन्दा पाउको हिसाबमा गर्न थालेका छन् । ‘‘साग र तरकारीको मूल्य छोइनसक्नु भएको छ’’, स्थानीयवासी डबलबहादुर बोहराले भने, ‘‘तरकारी र खाना पकाउने ग्यासको मूल्य महँगो हुँदा विपन्न समुदाय निकै मारमा परेका छन् ।’’

अर्का उपभोक्ता नारायण चौधरीले हुने खानेले बढी मात्रामा प्रयोग गरिरहेको पेट्रोल, डिजेलमा मूल्य घटाउनुपर्ने तर विपन्न वर्गको प्रयोगमा रहेको खाना पकाउने ग्यासको मूल्य नघटाउने सरकारको नीति गरिबमारा रहेको आरोप लगाए । अन्य महिनाको भन्दा वर्षायाममा तराईका जिल्लामा सागलगायत तरकारी उत्पादन निकै कम परिमाणमा उत्पादन हुने गर्दछ ।


Published :असार १८, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media