फुट उन्मुख जसपा, छुट्टै भेला बोलाउने तयारीमा बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ । सो पार्टीको डा. बाबुराम भट्टराई पक्षले छुट्टै भेला बोलाउने तयारी थालेको छ । अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कमिटी बैठक बोलाएकै समय मिलाएर भेला गर्ने तयारी गरेको नेताहरुले बताएका छन् ।

पार्टीमा विवाद चलिरहेका बेला संघीय परिषद् अध्यक्ष डा. भट्टराई र कार्यकारिणी अध्यक्ष यादवबीच गत बुधबार भेट भएको थियो । तर त्यो भेटपछि जसपा फुट उन्मुख छ । अध्यक्ष यादवले मन्त्री हेरफेरको तयारी गरेका छन् भने यही २७ र २८ गते वीरगञ्जमा केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

भट्टराई पक्षले भने बैठकमा नजाने तयारी थालेको छ । डा. भट्टराई स्वयं अब उपेन्द्र यादवसँग मिलेर जान सकिन्न भन्ने निष्कर्षमा पुगेको भट्टराई पक्षधर नेताहरुले बताएका छन् । शनिबार गोरखा काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा पार्टीमा देखिएको समस्याबारे लामो सम्बोधन गरेका उनले जसपामा उन्नत, समावेशी लोकतन्त्रको अभ्यास नभएको र सानो, क्षेत्रीय र त्यसमा पनि एउटा जातको पार्टी जस्तो बनेको बताएका छन् ।


Published :१९ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media