मौसम पूर्वानुमानः काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । आज (सोमबार) पनि काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान देशका धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौं उपत्यकाका केही स्थानमा पनि बिहानैदेखि हल्का बर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने पनि महाशाखाले जनाएको छ ।

यस्तै राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेश एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाग्मती प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले सचेत रहन भनेको छ ।

यस्तै पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सबैमा महाशाखाले अनुरोध गरेको छ ।


Published :२० असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media