अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः गगन थापा

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले अर्थमन्त्री जनार्दन शर्माले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उनले अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।

उनले अर्थमन्त्री शर्माका सम्बन्धमा संसदभित्र र बाहिर प्रश्नहरु उठेकोले राजीनामा दिनुपर्ने बताए । उनले अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिए प्रधानमन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने बताए । उनले भने, ‘अहिले अर्थ मन्त्रालयले सिसिटिभि फुटेज जम्मा १३ दिनको मात्र छ भनेर बोलेपछि तत्काल प्रधानमन्त्रीले यसका बारेमा एक्सनमा जानुपर्छ । यत्रो विषय संसदमा उठ्यो । बाहिर उठ्यो । हो, होइन मलाई थाहा छैन । तर यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ । कि प्रधानमन्त्रीजीले उहाँलाई अहिल्यै हटाउनुपर्छ । र तत्काल छानबिन गर्नुपर्छ ।

उनले भने, ‘हाम्रो आफ्नै नियम, कानूनले पनि हामीलाई कम्तीमा तीन महिनासम्मको सिसिटिभि फुटेज राख्ने कुरा भनिहाल्छ । त्यसमाथि पनि बजेट यो संसदले जुन पारित गरेको छ । यसको करको दर भनेको चाहीँ सामान्य कुरा होइन । कसैले सामान्य मानवीय त्रुटी भयो भनेर यसबाट जान पाउने कुरा पनि छैन ।’

यसरी कुरा उठिसकेपछि अब यो उठ्यो, उठ्यो यत्तिकै गयो भनेर नहुने बताउँदै उनले यस विषयमा छानविन नगर्ने हो भने गलत नजिर बस्ने भएकाले छानबिनमा दोषी देखिए कारबाही गर्नुपर्ने पनि बताए ।

उनले अर्थमन्त्रीको हितमा तत्काल राजीनामा दिनु उपयुक्त हुने वा प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाएर यसको छानबिन गर्नु नै अहिलेको विकल्प रहेको बताए ।


Published :२० असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media