वी लभ यु फाउण्डेसनद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौँ । वी लभ यु फाउन्डेसनले विश्वभरि बढ्दै गइरहेको पर्यावरण प्रदूषण कम गराउन काठमाडौंको कागेश्वरी- मनोहरास्थित सहिद पार्कमा आज वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।

सो फाउण्डेसनले यस किसिमका कार्यक्रमहरु मानवजातिको उज्ज्वल भविष्य र स्वच्छ पृथ्वीलाई बचाऔं परियोजनाअन्तर्गत गरेको जनाएको छ । सो परियोजना पूरा गर्नका निम्ति सो फाउण्डेसनले ३ मुख्य क्याम्पेनहरू पृथ्वीलाई बचाउने, जीवन बचाउने र मानवता बचाउने जारी गरेको छ ।

फाउण्डेसनले नेपालमा मानवहितका यसप्रकारका थुप्रै गतिविधिहरु पनि निरन्तर रुपमा गर्दै आएको जनाएको छ । फाउण्डेसनले पिउने पानीको असुविधाले ग्रस्त विद्यालयमा सफा पानीको व्यवस्था गर्नुका साथै किशोरावस्थाका विद्यार्थीहरुमा असल चरित्र र विवेक निर्माण गर्नका लागि कार्यक्रमहरुको आयोजना गरेको छ । त्यसैगरी धेरै विद्यालयहरुमा पुस्तकालयहरुको निर्माणसमेत गरेको छ ।

त्यसैगरी रक्त आपूर्तिलाई सहज बनाउन विभिन्न समयमा रक्तदान अभियान सञ्चालन अनि मौसम परिवर्तनको जोखिम न्यूनीकरण गर्न वातावरण संरक्षण गरी राष्ट्रव्यापी रूपमा सडक, पार्क तथा नदी सरसफाईलगायतका क्याम्पेनहरु पनि गरिरहेको छ ।

आजको कार्यक्रममा प्रमुख अतिथिका रूपमा माननीय कृष्ण राई, अतिथि बागमती प्रदेश सभा सदस्य रामेश्वर फुयाल, अतिथिहरूमा नेकपा एमाले प्रदेश कमिटी सदस्य रामशरण ढुङ्गाना,  नेकपा एमाले प्रदेश कमिटी सदस्य विश्वराज श्रेष्ठ, कागेश्वरी-मनोहरा नगरपालिका वडा नं १ का अध्यक्ष मुकुन्दप्रसाद गजुरेललगायतका व्यक्तित्वहरूको सक्रिय सहभागिताको रहेको थियो ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय कृष्ण राईले वी लभ यु फाउण्डेसनको ‘आमाको प्रेम सारा संसारमा’ भन्ने मूल नारालाई मुक्तकण्ठले प्रशंसा गरेका थिए । अहिलेको मानव समाज सभ्यता विकासको चौथो आयाम अर्थात् जीवन विकासको आयाममा प्रवेश गरेको अनि फाउण्डेसनले गर्दै आएको वृक्षारोपण लगायतका यस्ता अन्य कार्यहरू प्रत्यक्ष रूपमा जीवन विकासको आयामअन्तर्गत पर्ने भएकाले यसखाले गतिविधिको उपादेयता अन्य कुनै कार्यक्रमहरूभन्दा अत्यधिक रहेको उनले बताए ।

उनले सान्दर्भिक र बहुआयामिक गतिविधिहरूद्वारा विश्व मानव समाज बचाउन सक्रिय भूमिका निर्वाह गर्दै आएको फाउण्डेसनलाई आफूले सक्दो साथसहयोग दिने प्रतिबद्धता पनि व्यक्त गरे । त्यसैगरी फाउण्डेसनका अध्यक्ष शोभाकर घिमिरेले संस्थाले सधैं मानवहितका लागि कार्य गर्नको निम्ति फाउण्डेसनले पृथ्वीलाई बचाउने, जीवन बचाउने र मानवता बचाउने मुख्यतः ३ क्याम्पेन जारी गरेको र यसमा फाउण्डेसनका सदस्यहरू मात्र नभई वातावरण संरक्षणका अन्य अभियन्ताहरू, नागरिक समाज तथा सम्बन्धित सरोकारवालाहरू सबैले सचेत भई सहयोग गर्न आव्हान गरे ।

यसैगरी कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का अध्यक्ष मुकुन्दकुमार गजुरेलले स्वयंसेवा गर्ने युवा शक्ति अन्य संस्थामा पनि फाउन्डेसनमा जस्तै सक्रिय भएमा विश्व वातावरण संरक्षण गर्न सहज ढंगले सकिने र अमूल्य मानव जीवन बचाउन सकिने विचार व्यक्त गरे ।

४०० जनाभन्दा बढीको उल्लेखनीय सहभागिता रहेको सो कार्यक्रममा प्रमुख अतिथि कृष्ण राईलगायत अन्य सहभागीहरुले वृक्षारोपण गरेका थिए । सो कार्यक्रमका प्रमुख अतिथिलगायत सम्पूर्णलाई फाउण्डेसनका सचिव नारायण श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरिएको थियो ।


Published :२२ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media