काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ । महानगरको १९औँ नगरसभाको बिहीबारको बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षको बजेटसार्वजनिक गरेकी हुन् । उनले राजधानीको दिगो विकास, सुशासन, सेवा प्रवाहमा सुधार र पूर्वाधार विस्तारलाई केन्द्रमा राखेर बजेट ल्याइएको बताइन्  । बजेटमा पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र वातावरणीय सुधारलाई मुख्य प्राथमिकतामा राखिएको छ । प्रस्तुत बजेटअनुसार सञ्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ व्ययभार पर्ने र ७५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार रहने डंगोलले बताइन् । आगामी आर्थिक वर्षका लागि महानगरले आन्तरिक आय, बैंक मौज्दात, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँटलाई प्रमुख स्रोतका रूपमा अनुमान गरेको छ । महानगरले आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँ जुटाउने लक्ष्य राखेको छ । त्यस्तै, नेपाल सरकार तथा बागमती प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त अनुदान र राजस्व बाँडफाँटमार्फत ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । जनसहभागिताबाट थप १ करोड रुपैयाँ जुटाइने अपेक्षा गरिएको छ । आर्थिक विकास क्षेत्रमा कुल बजेटको २.१ प्रतिशत अर्थात् ५४ करोड १८ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ । सामाजिक विकास क्षेत्रमा ९.६ प्रतिशत अर्थात् २ अरव ४२ करोड २७ लाख ३१ हजार रुपैया विनियोजन गरिएको छ । सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ८.५ प्रतिशत अर्थात् २ अरव १३ करोड ४७ लाख ९२ हजार प्रस्ताव गरिएको छ । त्यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १८.८ प्रतिशत अर्थात् ४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार रुपैयाँ विनियोजन गरिएको कार्यवाहक प्रमुख डंगोलले बताइन् ।

पूर्वाधार विकासका लागि १५ अर्ब ३१ करोड विनियोजन

महानगरले आगामी वर्षको बजेटमा पूर्वाधार विकासलाई सबैभन्दा बढी प्राथमिकता दिएको छ । कुल बजेटको ६१ प्रतिशत अर्थात् १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार रुपैयाँ पूर्वाधार क्षेत्रमा विनियोजन गरिएको छ । सडक, ढल, सार्वजनिक संरचना, नदी किनार संरक्षण, पार्क निर्माण तथा शहरी सुविधाको विस्तारमा यो रकम खर्च गरिने डंगोलले बताइन् । फोहोरमैला व्यवस्थापन, सार्वजनिक शौचालय निर्माण, पिउने पानीको पहुँच विस्तार तथा शहरी सौन्दर्यीकरणका कार्यक्रमलाई पनि बजेटले प्राथमिकतामा राखेको छ । महानगर क्षेत्रभित्र प्रदूषण न्यूनीकरण, सार्वजनिक यातायात व्यवस्थापन र रात्रिकालीन यातायात सेवालाई निरन्तरता दिन आवश्यक बजेट व्यवस्था गरिएको छ ।

शिक्षा र स्वास्थ्यमा विशेष जोड

विद्यालय शिक्षा प्रणालीमा सुधार गर्ने उद्देश्यसहित महानगरले शिक्षातर्फ १ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेको छ । सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि, शैक्षिक पूर्वाधार विस्तार र विद्यार्थीमैत्री वातावरण निर्माणमा बजेट केन्द्रित गरिएको डंगोलले बताइन् । स्वास्थ्य क्षेत्रका लागि ७० करोड रुपैयाँ विनियोजन गरिएको छ । महानगर अस्पताल निर्माणको बहुवर्षीय योजनाअन्तर्गत पहिलो चरणका लागि ४ करोड रुपैयाँ छुट्याइएको छ । शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रहरूको क्षमता विस्तार, निःशुल्क स्वास्थ्य सेवा, निःशुल्क एम्बुलेन्स सेवा तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र स्थापना गर्न बजेट व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिकका लागि निमोनिया खोप कार्यक्रम सञ्चालन गर्न १ करोड रुपैयाँ छुट्याइएको छ भने क्यान्सर लगायत जटिल रोगको प्रारम्भिक पहिचान र उपचार सहजीकरणका कार्यक्रम पनि सञ्चालन गरिने भएका छन् ।

युवा स्वरोजगार र सामाजिक सुरक्षामा लगानी

महानगरले युवालाई लक्षित गर्दै स्वरोजगार कार्यक्रम सञ्चालन गर्न १० करोड रुपैयाँ विनियोजन गरेको छ । ‘एक वडा–एक उद्यम’ कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै रोजगारी सिर्जना र आयवृद्धि गर्ने लक्ष्य राखिएको कार्यवाहक प्रमुख डंगोलले बताइन् । सामाजिक सुरक्षाअन्तर्गत महानगर पोषण भत्ता कार्यक्रमका लागि १६ करोड रुपैयाँ विनियोजन गरिएको छ । अपाङ्गता भएका व्यक्ति, अशक्त तथा ज्येष्ठ नागरिकलाई घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रमका लागि पनि बजेट व्यवस्था गरिएको छ । सामूहिक आवास निर्माण कार्यक्रमका लागि पहिलो चरणमा ५ करोड रुपैयाँ छुट्याइएको उनले बताइन् । भूमिहीन तथा आवास समस्यामा परेका नागरिकको समस्या समाधानका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी महानगरको छ ।

सम्पदा संरक्षण र सांस्कृतिक सहर अभियान

राजधानीको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचान जोगाउन महानगरले सम्पदा संरक्षणमा उल्लेख्य बजेट विनियोजन गरेको छ । मठ, मन्दिर, पोखरी, हिटी, बहाल, वहाः, ननी लगायत पुरातात्त्विक सम्पदाको संरक्षण तथा पुनःनिर्माणका कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । सम्पदा संरक्षणका लागि २ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको छ । साथै, बागमती प्रदेश सरकारसँग सहकार्य गरी काठमाडौंलाई ‘सांस्कृतिक सहर’ घोषणा गर्ने योजना अघि बढाइएको छ । काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आयोजना गर्न समेत बजेट व्यवस्था गरिएको डंगोलले बताइन् ।

वातावरण र विपद् व्यवस्थापनमा जोड

वातावरण व्यवस्थापनका लागि १ अर्ब २२ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्लास्टिक झोलामुक्त काठमाडौं अभियान, हरियाली प्रवद्र्धन, नदी किनार संरक्षण तथा सार्वजनिक खुला क्षेत्र विस्तारका कार्यक्रम सञ्चालन गरिने भएका छन् । विपद् व्यवस्थापनका लागि ३६ करोड रुपैयाँ विनियोजन गरिएको छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, तापक्रम वृद्धिको असर न्यूनीकरण तथा विपद्का समयमा आवश्यक उपकरण र स्रोत व्यवस्थापनलाई बजेटले प्राथमिकता दिएको छ ।

घरबहाल कर ७ प्रतिशतमा झारियो

राजस्व संकलनलाई प्रभावकारी बनाउन महानगरले करदातामैत्री नीति ल्याएको छ। आगामी असोज मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ। त्यस्तै बक्यौता कर चुक्ता गर्ने करदातालाई जरिवाना मिनाहा गरिने भएको छ । आवासीय प्रयोजनका लागि बहालमा दिइएका घरजग्गाको करदर पनि घटाइएको छ । वार्षिक २ लाख ४० हजार रुपैयाँभन्दा बढी बहाल आम्दानी हुने घरधनीका लागि बहाल कर साविकको १० प्रतिशतबाट घटाएर ७ प्रतिशत कायम गरिएको डंगोलले बताइन् ।

चालु वर्षको खर्च ४५ प्रतिशत

महानगरले चालु आर्थिक वर्ष २०८२÷८३ मा २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट ल्याएको थियो । आर्थिक वर्षको जेठ मसान्तसम्म कुल ११ अर्ब २९ करोड २९ लाख रुपैयाँ खर्च भएको छ । यो कुल बजेटको करिब ४५ प्रतिशत हो । पूँजीगत खर्च ५ अर्ब ५२ करोड रुपैयाँ र चालु खर्च ५ अर्ब ७२ करोड रुपैयाँ पुगेको डंगोलले बताइन् । राजस्व संकलनतर्फ जेठ मसान्तसम्म ९ अर्ब ६९ करोड ९९ लाख रुपैयाँ उठेको छ । यो लक्ष्यको ६४.१७ प्रतिशत हो । महानगरले असार मसान्तसम्ममा वित्तीय र भौतिक प्रगति थप सुधार हुने अपेक्षा गरेको छ ।

विकास र सेवा प्रवाह सुधारको दाबी

कार्यवाहक प्रमुख डंगोलले प्रस्तुत बजेटले काठमाडौंलाई स्वच्छ, सुरक्षित, हरियाली, सांस्कृतिक तथा जीवन्त सहरका रूपमा विकास गर्ने लक्ष्यलाई बल पुग्ने विश्वास व्यक्त गरिन्। उनले बजेट कार्यान्वयनमा जनप्रतिनिधि, कर्मचारी, करदाता, निजी क्षेत्र, विकास साझेदार र सञ्चार क्षेत्रको सहयोग आवश्यक रहेको उल्लेख गरिन् । महानगरले आगामी वर्ष पूर्वाधार निर्माण, फोहोर व्यवस्थापन, स्वास्थ्य सेवा विस्तार, शिक्षा सुधार, सम्पदा संरक्षण र सुशासनलाई केन्द्रमा राख्दै राजधानीको विकासलाई नयाँ गति दिने दाबी गरेको छ । बजेट कार्यान्वयन प्रभावकारी भएमा काठमाडौंको शहरी व्यवस्थापन र सेवा प्रवाहमा उल्लेख्य सुधार आउने उनले बताइन् ।


Published :असार ५, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media