आगामी मंसिर २ गते निर्वाचन गर्न आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर २ गते गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारी टोलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति प्रस्ताव गरेका हुन्।

प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार संघ र प्रदेशको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने तयारी आयोगको रहेको छ । आयोगले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको अनुभवका आधारमा एकै चरणमा निर्वाचन गर्न उपयुक्त हुने सुझाव पनि दिएको छ । आयोगका प्रवक्ता पौडेलले भने- ‘एकै चरणमा निर्वाचन गर्दा निर्वाचन निष्पक्ष, स्वतन्त्र, मितव्ययी र विश्वसनीय हुने आयोगको अनुभव रहेको छ ।’

आयोग पदाधिकारीले निर्वाचनको तयारीका लागि चाहिने १ सय २० दिनको समय छुट्ट्याएर ढिला नगरी मिति घोषणा गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । निर्वाचनको मिति आयोगको सिफारिसमा सरकारले तोक्ने कानुनी व्यवस्था छ।

 


Published :२२ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media