जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपालमा आज राष्ट्रिय शोक मनाउने

काठमाडौँ ।  जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपाल सरकारले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

शुक्रबार गोली प्रहारपछि उपचारको क्रममा आबेको निधन भएको हो । शुक्रबार बसेको मन्त्रिपरिषद्‍को बैठकले आबेको निधनमा आजका लागि राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । यस्तै सरकारले उनको निधनमा दुःख व्यक्त गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आबेको निधनको खबरपछि गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

देउवाले ट्वीटरमार्फत् आबेको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । साथै परिवारका सदस्यमा समवेदना व्यक्त गरेका थिए । मन्त्रिपरिषद्‍ले पारित गरेको शोक वक्तव्यमा भनिएको छ, ‘मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको नेपाल सरकार घोर भर्त्सना गर्दछ ।

उनको निधनप्रति गहिरो दुःख प्रकट गर्दै जापान सरकार, जापानी जनता र स्वर्गीय आबेको परिवारजनप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ । नेपाल सरकारले स्वर्गीय आबेको सम्मानमा मिति २०७९ असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्‍को बैठकले आबेको हत्याको भर्त्सना पनि गरेको छ । यसअघि नै विभिन्न देशका सरकारले पनि आबेको निधनमा दुस्ख व्यक्त गर्नुका साथै शोक मनाउने निर्णय गरेका छन् ।

शुक्रबार चुनावी सभालाई सम्बोधन गर्ने क्रममा आबेमाथि गोली प्रहार भएको थियो । गोली प्रहारपछि ढलेका आबेको उपचारका क्रममा निधन भएको हो ।


Published :२५ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media