श्रीलंकामा प्रदर्शनकारीले लिए राष्ट्रपति निवास कब्जा, प्रधानमन्त्री विक्रमासिङ्घेद्वारा राजीनामाको घोषणाा

कोलम्बो । श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपतिको सरकारी निवास कब्जामा लिएका छन् ।

राष्ट्रपति गोटाबाया राजापाक्षे सुरक्षित स्थानमा गएको भनिएको छ, तर कहाँ छन् भन्ने नखुलेको श्रीलंकन सञ्चार माध्यम डेली मिररले जनाएको छ ।

दबाबमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे राजधानीमा रहेको आफ्नो आधिकारिक निवासबाट भागेका छन् ।

राष्ट्रपति राजापाक्षे शनिबार निवासबाट भागेको एक शीर्ष रक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । त्यसअघि राष्ट्रपति राजापाक्षेको राजीनामा माग गर्दै उनको निवासको कम्पाउन्डमा प्रदर्शनकारी पुगेका थिए ।

‘राष्ट्रपतिलाई इस्कर्टिङ गरिएर लगिएको थियो’, रक्षा स्रोतले भन्यो । आक्रोशित भिडलाई राष्ट्रपतिको दरबारमा प्रवेश गर्नबाट रोक्न सेनाले हवाइ फायरसमेत गरेको प्राप्त विवरणमा जनाइएको छ ।

हजारौं प्रदर्शनकारीले प्रहरी ब्यारिकेड तोडेर राष्ट्रपतिको सरकारी निवासमा पसेको जनाइएको छ ।

सरकारले लगाएको कर्फ्युको अवज्ञा गर्दै भिड राष्ट्रपति निवास बढेको थियो । प्रदर्शनकारीले स्वस्फुर्त कफ्र्यु अवज्ञा गरेपछि सरकारले हटाएको घोषणा गरेको थियो ।

श्रीलंकामा सन् १९४८ पछिकै चरम आर्थिक संकट देखिएको छ । देशमा विदेशी सञ्चिति सकिएको छ । ईन्धन अभावमा विद्यालय बन्द छन् । ­

यसैबीच श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आफ्नो पार्टीका नेताहरूलाई सर्वदलीय सरकार गठनका लागि आफ्नो पदबाट राजीनामा दिन तयार रहेको जानकारी गराएको सञ्चार माध्यमले जनाएका छन् ।

विक्रमासिंघेले सर्वदलीय सरकार गठनका लागि राजीनामा दिन राजी भएको पीएमओले जनाएको छ ।

 


Published :२५ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media