मानवअधिकार कहिल्यै उल्लंघन गरिनः एमाले अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालयजस्तो नियन्त्रण कायम गर्नुपर्ने मन्त्रालय सम्हाल्दादेखि लिएर आफ्नो राजनीतिक जीवनका ५७ वर्षमा कहिल्यै पनि मानव अधिकार उल्लंघन नगरेको दाबी गरेका छन् ।

बुधबार मानव अधिकार एलाइन्सले आयोजना गरेको आफ्नो २३ औं स्थापना दिवसमा मानव अधिकार आयोगका कुनै पनि सदस्यहरु उपस्थित नभएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले आफूलाई सुनपानीले धोएको पवित्र मानव अधिकारवादी र हामीलाई मानव अधिकार उल्लंघनकर्ता ठान्ने भूल नगर्न पनि चुनौती दिए ।

एमाले अध्यक्ष ओलीले आफूले मानव अधिकारको उल्लंघन अहिलेसम्म नगरेको र अब पनि नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष ओलीले मानव अधिकारलाई राजनीतिक नियुक्तिको कार्यकाल, जागिरको रुपमा नलिई आर्दश, निष्ठा, यात्रा र गन्तव्यको रुपमा आफूले लिएको पनि स्पष्ट पारे ।

उनले भने, ‘मैले गृहमन्त्रीको हैसियतमा गृह मन्त्रालयजस्तो नियन्त्रण कायम गर्नुपर्ने मन्त्रालय पनि सम्हालेको छु । र, मैले परराष्ट्र त आफ्नो ठाउँमा छ । प्रधानमन्त्रीको हिसाबले पनि सम्हालेको छु । जसभित्र अरु मन्त्रालयहरु रक्षादेखि लिएर सबै मन्त्रालय पनि पर्छन्, गृह पनि पर्छ । म दावी साथ के भन्न सक्छु भने–यी ५७ वर्षदेखिको मेरो लडाईँ मूलतः मानव अधिकारका लागि हो । मेरो लडाई भनेको मानव अधिकारका लागि । र, म अर्को के भन्छु भने–मैले गृहमन्त्री समेत सम्हालेर प्रधानमन्त्रीसमेत सम्हालेर आएको, चलाएर आएको किन भनेको भने त्यसो भएर पनि मैले मानव अधिकारको अहिलेसम्म उल्लंघन गरेको छैन । मैले मानव अधिकारको उल्लंघन गरेको छैन । र, मानव अधिकारको उल्लंघन गर्दिनँ पनि । त्यसकारण आफूलाई पवित्र सुनपानीले धोएको, दुवोपानी छर्किएको मानव अधिकारवादी कसैले ठानेर हामीलाई चाहिँ मानव अधिकारको उल्लंघनकर्ता ठान्ने भूल गर्छ भने त्यो भूल हो । हामी मानव अधिकारका लागि मैले मानव अधिकार दिवसको अवसरमा पनि बोल्दा भनेको थिँए–मानव अधिकार मेरो जागिर होईन । मानव अधिकार मेरो एक कार्यकालको नियुक्ति होइन । मानव अधिकार मेरो आर्दश हो । मेरो निष्ठा हो । मेरो उद्देश्य हो । मेरो गन्तव्य हो । मेरो यात्रा हो । र, मेरो पुग्ने गन्तव्य हो । त्यसकारण मानव अधिकार आयोगका माननीय सदस्य सबै आउनु परेन तर कोही त आउनु पथ्र्यो । मानव अधिकारको क्षेत्रमा यो एलाईन्स क्रियाशील छ भने यसलाई उहाँहरुले आफूभन्दा पृथक होइन, सहयोगी ठान्नुपर्दथ्यो । अव उहाँहरु किन आउनुभएन । यसो मेरो अनुमान है । म यकिन पनि भन्न सक्दिन । यो चाँही मानव अधिकार विशुद्ध मानव अधिकार होइन कि भन्ने ठान्नुभयो कि ? विशुद्ध मानव अधिकार भनेको हुँदै हुँदैन । मानव अधिकार भनेको मानव अधिकार हो, त्यो अशुद्ध पनि हुँदैहुँदैन । त्यसकारण मानव अधिकारलाई विशुद्ध र अशुद्ध, आंशिक र पूर्ण ठान्ने धारणा भ्रान्ति हो, त्यो सही धारणा होइन । यदि उहाँहरुले त्यसो ठानेर नआउनू भएको हो भने त्यो नठान्दा हुन्छ भन्ठान्छु मैले ।’

राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारलाई विशुद्ध र अशुद्ध ठान्न नहुने उनको टिप्पणी थियो । अध्यक्ष ओलीले मानव अधिकार विशुद्ध र अशुद्ध अनि आंशिक र पूर्ण नहुने तर्क गर्दै त्यस्तो भ्रान्तिमा नपर्न राष्ट्रिय मानव अधिकार आयोगलाई सचेत समेत गराए ।

 


Published :२९ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media