वर्तमान सरकार असफल, राष्ट्रिय सरकार गठनका लागि एमालेले पहल गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले वर्तमान सरकार पूरै असफल भएको आरोप लगाएकी छिन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले वर्तमान सरकार राष्ट्रियताको हिसाबले पनि असफल भएको दाबी गरिन् ।

उनले सरकारका बारेमा राष्ट्रियताको हिसाबले समीक्षा गर्दा एमसिसी हुँदै एसपिपीसम्म आइपुग्दा यो सरकार राष्ट्रवादी नरहेको जिकिर गरिन् ।  सरकार राष्ट्रको हितमा काम गर्दैन भन्ने कुरा प्रष्ट रुपमा देखिएको दाबी उनले गरिन् । एमालेले राष्ट्रिय सहमति कायम गरेर मुलुकको अद्यावधिक नक्शा जारी गरेको उनले बताइन् । यो सरकार आफ्नो राष्ट्रको पक्षमा एक शब्द पनि बोल्न नसकेको उनले बताइन् ।

उनले भनिन्, ‘प्रमुख प्रतिपक्षी दलको हैसियतले मात्रै नभएर मुलुकको एउटा जिम्मेवार नागरिकको हैसियतबाट हेर्दा यो सरकार चर्चा गर्नलायक नै छैन । एक वर्षको बीचमा यो सरकारले गरेको एउटा पनि राम्रो काम भेटिँदैन । जताततै बेथिति र बेथितिमात्रै छ । भ्रष्टाचार अनि भ्रष्टाचारमात्रै छ । कमिशनै कमिशन छ । लुटपाट, हत्या, बलात्कारजस्ता गतिविधिबाट जनता आक्रान्त बनेका छन् । यो सरकार जति दिन रहन्छ, राष्ट्र र जनताको निम्ति बोझ बन्ने कुरा स्पष्ट रुपमा देखिएको छ ।’

 

उनले अर्थतन्त्रको हिसाबले पनि मुलुक पूरै असफल भएको आरोप लगाइन् । उनले भनिन्–‘अर्थतन्त्रका सुचकहरु सबै धराशायी बने । सबै ऋणात्मक अवस्थामा छन् । अब यो मुलुकलाई असफल मुलुक भनेर घोषणा गर्नमात्रै बाँकी छ । केही समय यस्तै रह्यो भने आज जे श्रीलंकाले भोगिरहेको छ, भोलि नेपालले भोग्न सक्दैन भन्ने कुराको कुनै ग्यारेन्टी छैन् । हामी त्यही पथतिर अगाडि बढिरहेका त होइनौं ? भन्नेखालको स्थिति देखिएको छ ।’

पूर्वमन्त्री अर्यालले अहिले जनताको जीवन चौपट र कष्टकर बनिरहेको आरोप लगाइन् । उनले भनिन्,‘महँगीले आकाश छोएको छ । महिनामा चार–चार पटकसम्म मूल्यवृद्धि भएको छ । त्यसैले मलको सिजनमा मल छैन, पढ्ने बेलामा विद्यार्थीको हातमा पुस्तक छैन् । हत्या, आतंक बढिरहेको छ ।’

उनले वर्तमान पाँच दलीय गठबन्धनलाई स्वार्थको मिलनमात्रै भएको आरोप लगाइन् । उनले थपिन्– ‘राजनीतिक रुपमा यो गठबन्धन स्वार्थको मिलन हो । राष्ट्र र जनताको हितको निम्ति यो गठबन्धन बनेको होइन । यो गठबन्धन स्वार्थको गठबन्धन हो भन्ने कुरा छर्लङ भएको छ । यो अपवित्र गठबन्धन हो । यो कुरा प्रमाणित भइसकेको छ। किनकी राष्ट्रिय जिम्मेवारी र जनताको जवाफदेहीबाट सरकार अलग छ । सरकार लुट्न व्यस्त छ । सरकार जहाँ पैसा पाइन्छ, त्यही काममा व्यस्त छ । यो अपवित्र गठबन्धन जसरी गठबन्धन टिकाउन सकिन्छ, त्यही काममा मात्रै सरकार व्यस्त छ । मुलुक जेसुकै होस, जनता जतासुकै होउन, यो सरकारलाई केही मतलब छैन ।’

अर्यालले सरकारले अहिले नाङ्गै लुटतन्त्र मच्चाएको गम्भीर आरोप लगाइन् । उनले भनिन्–‘यतिसारो लुट, यतिसारो आर्थिक हिसाबको कामबाहेक अन्त यसको ध्यान गएको छैन । बजेट निर्माणको सिलसिला हेर्दा त्यहाँ पनि लुटिएको छ । सरुवा हेरौं, सबै ठाउँमा बाँकी नराखिकन लुट्ने काम भएको छ । विकासका योजना काटिएको छ । जम्मै लुट्ने ठाउँमा पैसा हालिएको छ । जे गर्दा पैसा लुट्न सकिन्छ, त्यहीमा मात्रै यो सरकारको ध्यान छ । राष्ट्र र जनताप्रति यो सरकारको कुनै जिम्मेवारीपन छैन । ध्यान छैन । त्यसैले यो सरकार असफल हो । यो सरकार चर्चा गर्न कुनै मानेमा लायक छैन् । यो त इतिहासको अयोग्य र असफल सरकार हो । बरु यसले कमजोर र असफलको हिसाबले एउटा किर्तीमान कायम गरेको छ । असफलताको किर्तीमान कायम गरेको छ ।’

 

उनले अब विलम्ब नगरिकन गठबन्धनको विकल्प खोज्ने बेला भएको बताइन् । ‘एमालेले सदनबाट आवाज उठाइरहेको छ । संघर्ष गरिरहेको छ । त्यहाँबाट सुनवाई भएन भने अब एमालेले सडक तताउनेछ । सडकबाट आन्दोलन गरेर गठबन्धनको विकल्प खोज्नेछ । एमालेले राष्ट्रिय सरकार गठनको लागि पहल गर्नेछ । किनिकीयो सरकार चुनाव गर्नको लागि पनि लायक छैन ।’ उनले भनिन् ।

राष्ट्रिय सहमतिको सरकारबेगर अब मुलुक अगाडि जान नसक्ने उनको भनाइ थियो ।


Published :२९ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media