विद्यार्थीले आज गभर्नरको राजीनामा माग्दै बालुवाटार घेराउ गर्ने

राष्ट्रपाटी न्युज

१ श्रावण २०७९

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै आज बालुवाटार घेराउ गरिने भएको छ ।

सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठनहरू नेविसंघ र अखिल(क्रान्तिकारी) ले गभर्नर अधिकारीको राजीनामाको माग गर्दै घेराउ र विरोध प्रदर्शन गर्ने भएका हुन् ।  दलीय संलग्नता र शैक्षिक योग्यता समेतका विषयहरूमा  प्रश्न उठेको भन्दै युवा विद्यार्थी सङ्गठनहरू केही दिनयता आन्दोलित रहेकोमा नेविसंघ र अखिल (क्रान्तिकारी) ले घेराउ र विरोध प्रदर्शन गर्न लागेको जनाइएको छ ।

आइतबार बिहान १० बजे बालुवाटार ३ नम्बर गेटसँगै रहेको नेपाल राष्ट्र बैकको गेटमा  जम्मा भई गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने  कार्यक्रम रहेको विद्यार्थी संगठनहरुले जनाएका छन् ।

विरोध कार्यक्रमलाई नेविसंघ अध्यक्ष डुजाङ शेर्पा र अखिल(क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्तिबारे बहस र आलोचना सुरु भएको हो । अधिकारीको नियुक्ति ‘राजनीतिक संलग्नता नभएको स्वतन्त्र व्यक्ति मात्र  गभर्नर हुनसक्ने  प्रावधान’ विपरीत भएको खुल्न आएको भएको भन्दै  युवा विद्यार्थी सङ्गठनहरूले विरोध चर्काएका हुन्  ।

सरकारलाई दबाब बढाउने नीति अनुरूप यसअघि शुक्रबार नेविसंघले माइतीघरमा प्रदर्शन गरेको छ । त्यसैगरी शनिबार वाईसीएल नेतृत्वको टोलीले गभर्नरलाई बर्खास्त गरी छानबिन अघि बढाउन प्रधानमन्त्रीलाई भेटेरै ज्ञापन पत्र बुझाएको छ ।


Published :१ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media