विभिन्न बहानामा निर्वाचन सार्ने षड्यन्त्र भइरहेको एमाले अध्यक्ष ओलीको तर्क

राष्ट्रपाटी न्युज

४ श्रावण २०७९

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावबाट एमाले सरकारमा फर्किनुपर्ने भन्दै त्यसको तयारी गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । बागमती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई आज काठमाडौँमा सम्बोधन गर्दै ओलीले यस्तो निर्देशन दिएका हुन् ।

अध्यक्ष ओलीले भने- ‘देशको समृद्धिको विकासको जुन लय समातेको थियो, त्यस लयलाई फेरि प्राप्त गर्ने र अगाडि बढाउने, बाटोमा लान सक्ने त्यस्तो सरकारको गठन आगामी निर्वाचनबाट गर्नुपर्नेछ ।’  उनले अगाडि भने, ‘यो उद्देश्य प्राप्त गर्ने गरी हामी अगाडि बढ्नुपर्ने छ ।’

उनले आगामी मंसिरमा चुनाव हुनैपर्ने भन्दै यसबीचमा भ्रष्टाचार र बेथितिविरुद्ध संघर्ष गर्नुपर्ने र जनतालाई सरकारले दिएका पीडालाई अन्त्य गर्नुपर्ने बताए ।

ओलीले सरकार सञ्चालकहरु अयोग्य सावित भएको, भ्रष्ट सावित भएको, नातावाद कृपावादलाई आदर्श बनाएर कुदेको, देशको अर्थतन्त्रलाई वर्वादीतर्फ धकेल्दै लगेको, समाजलाई तनावग्रस्त अवस्थातर्फ धकेल्दै लगेको, अन्तराष्ट्रिय सम्बन्धलाई अनुचित ढंगले खल्वल्याएको र देशको भविष्य नै के होला भन्ने गम्भीर चिन्ता पैदा भएको बताए । ‘आफ्ना स्वार्थका पछाडि नकुद्ने व्यक्तिले सोच्यो भने मन थाम्न नसक्नेगरी ववर्वादीतर्फ देश जाँदैछ’, अध्यक्ष ओलीको भनाइ छ ।

उनले आफ्नो नेतृत्वको सरकार भएका बेला सम्बृद्धि र विकासको लय समाते पनि गठबन्धन सरकार बनेपछि त्यो बिग्रेकाले आगामी निर्वाचनपछि देशलाई सम्बृद्धि र विकासका उदेश्य प्राप्त गर्नेगरी बढ्नुपर्ने बताए ।

अध्यक्ष ओलीले विभिन्न बहानामा आगामी मंसिरमा हुनुपर्ने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सार्ने खतरा रहेको बताए । उलले सरकारले विभिन्न बहनामा निर्वाचन सार्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।


Published :४ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media