धर्म र समुदाय लक्षित प्रहार गरेर पाकिस्तानले कायरतापूर्ण व्यवहार देखायोः भारत

राष्ट्रपाटी न्युज

बैशाख २६, २०८२

काठमाडौं । भारत सरकारले पाकिस्तानले कायरतापूर्ण व्यवहार देखाएको आरोप लगाएको छ। बिहीबार राति भारतका विभिन्न क्षेत्रमा धर्म र समुदाय लक्षित प्रहार गरेर पाकिस्तानले कायरतापूर्ण व्यवहार देखाएको भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले जानकारी दिए।

शुक्रबार विशेष पत्रकार सम्मेलनमा उनले गुरुद्वारा र पुन्चमा पाकिस्तानले समुदाय लक्षित आक्रमण गरेको आरोप लगाएको हो। त्यस्तै विश्व समुदायमाझ पनि पाकिस्तानले मिथ्या सूचना फैलाइरहेको भारतको आरोप छ। पाकिस्तानका मन्त्रीहरू नै भ्रम फैलाउन उद्यत रहेको विदेश सचिव मिश्रीले बताए।

पाकिस्तानले विहीबार भारतको पश्चिम सीमा क्षेत्रको ३६ स्थानमा आक्रमण गरेको भारतले पुष्टि गरेको छ। पाकिस्तानले टर्किस निर्मित हतियार प्रयोग गरी कन्धार, उरी, पुन्च, मेन्धर, राजौरी, अख्नुर र उधमपुरमा आक्रमण गरेको कर्नेल सोफिया कुरैशीले बताइन्। उक्त घटनाहरूमा केही भारतीय सुरक्षाकर्मी हाताहाती भएको केही घाइते भएको उनले बताइन्। भारतको जवाफी कारबाहीमा भने पाकिस्तानी सेनामा ठूलो क्षति पुगेको भारतको दाबी छ। त्यस्तै पाकिस्तानले प्रहार गरेका धेरै ड्रोनलाई खसालेको भारतको दाबी छ।

त्यस्तै पाकिस्तानले त्यहाँको व्यवसायिक उडानलाई ढालको रूपमा प्रयोग गरिरहेको आरोप लगाए। पाकिस्तानले पटक-पटक भारतमाथि आक्रमण गरेर असफल प्रयास गरे पनि त्यहाँको उडानहरू नरोकेको आरोप मिश्रीको छ। पाकिस्तानको उक्त कदमले अन्तर्राष्ट्रिय उडानमा पनि खतरा पर्नसक्ने आकलन भारतको छ ।


Published :बैशाख २६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media