पूर्वअर्थमन्त्री छानबिन विशेष समितिको म्याद ७ दिन थप

राष्ट्रपाटी न्युज

५ श्रावण २०७९

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थप भएको छ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको भन्ने विषयमा गठित संसदीय विशेष छानबिन समितिको म्याद थप गरिएको हो  ।

समिति बैठकको सिफारिसमा सभामुख अग्नि सापकोटाले बिहीबारको प्रतिनिधि सभा बैठकमा संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थप्न प्रस्ताव गरेका थिए । सो प्रस्तावलाई सदनले स्वीकार गरेको हो ।

१० दिनको समयसीमासहित गठन भएको समितिले आफ्नो अनुसन्धान पुरा गर्न नसकेपछि म्याद थप भएको हो । समितिले बिहीबार बिहानसम्म कर्मचारी, पत्रकार र पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग छलफल गरे पनि प्रमाण भेटिएको छैन ।

आर्थिक वर्ष २०७९-८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो ।


Published :५ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media