एसपीपीमा सहभागी नहुने पत्राचार नभएकोबारे संसदलाई जानकारी गराउन सभामुखको निर्देशन

राष्ट्रपाटी न्युज

५ श्रावण २०७९

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपिपी) मा सहभागी हुन नसक्ने सरकारको निर्णय अमेरिकालाई पत्राचार नभएका सम्बन्धमा संसद्लाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले एसपीपीका बारेमा भएको निर्णय कार्यान्वयनबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् ।

बैठकमा सांसद भीम रावलले नेपालले एसपीपी सम्झौता नगर्ने भनी गरेको सरकारको निर्णय तत्काल अमेरिकालाई जानकारी गराउन माग गरेका थिए । उनले एसपिपी सरकारले नै लागू नगर्ने निर्णय गरिसकेको भन्दै परराष्ट्र मन्त्रालयले अझै पत्र नलेख्नुको कारण माग गरे ।

“मन्त्रिपरिषद् बैठकले पनि एसपिपीलाई अस्वीकार गरिसकेको र संसदीय समितिले पनि एसपिपीलाई फिर्ता गर्ने निर्देशन दिइसकेको छ”, उनले भने, “सम्झौता फिर्ता गर्ने निर्णय एक महिना भइसक्दा पनि किन परराष्ट्र मन्त्रालयले अमेरिकी सरकारलाई जानकारी किन गराउन नसकेको हो । संसदीय समितिको निर्देशन र मन्त्रिपरिषद्को निर्णय नमान्ने छुट परराष्ट्र मन्त्रालयले कसले दियो ?”

सांसद देवप्रसाद गुरुङले एसपिपी सम्झौता कार्यान्वयन नगर्ने सरकारको निर्णयका बारेमा अविलम्ब अमेरिकालाई पत्राचारका लागि रुलिङ गर्न माग गरेका थिए । उनले मन्त्रिपरिषद्ले एसपिपी सम्झौता कार्यान्वयन नगर्ने निर्णय गरिसकेका अवस्थामा परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले एसपिपीसम्बन्धी कुरालाई लिएर अमेरिकालाई अहिल्यै पत्राचार गर्न नसकिने भनी दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गरे ।


Published :५ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media