आज पुष्पलाल श्रेष्ठको ४४औँ स्मृति दिवस

राष्ट्रपाटी न्युज

७ श्रावण २०७९

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औँ स्मृति दिवस । नेपालका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी उनको योगदानको सम्झना गर्दैछन् ।

१५ असार १९८१ मा रामेछापको भँगेरीमा जन्मिएका श्रेष्ठको ७ साउन २०३५मा भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ १० वैशाख २००६ मा नेकपा स्थापना गरेका थिए ।

नेकपाको स्थापना कोलकाताको श्यामबजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो ।

राणा विरोधी आन्दोलनका शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत रहेका श्रेष्ठ दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही बिरोधी आन्दोलनमा सक्रिय भए । छोरा राजनीतिमा लागेकै कारण  पिता भक्तलाललको सुब्बाको जागिर खोसिएको थियो ।

२०१७ सालको राजाको कदम पछाडि उनले भूमिगत निर्वासित जीवन विताएका थिए । त्यसपछि २०२५ सालमा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने उनी पहिलो नेता हुन् ।

सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ । यस्तै पुष्पलाल मध्यपहाडी लोकमार्गसमेत निर्माण भएको छ ।


Published :७ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media