प्रेस युनियनको ८७ पदका लागि १७३ जना चुनावी प्रतिस्पर्धामा

राष्ट्रपाटी न्युज

७ श्रावण २०७९

चितवन । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ ।

शुक्रबार हेटौँडामा सुरु भएको महाधिवेशनमा उद्घाटन र बन्द सत्रका सबै कार्यक्रम सकिएसँगै आज नेतृत्वका लागि निर्वाचन हुने भएको हो । यसका लागि उम्मेदवारी दर्ता र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनको कामसमेत शुक्रबार नै सकिएको छ ।

प्रेस युनियन केन्द्रमा पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय लेखा समिति समेत गरी १२० जनाको प्रतिनिधित्व हुने विधानमा व्यवस्था गरिएको छ ।  जसमध्ये अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १२, महासचिव १, उपमहासचिव ६, सचिव १७, कोषाध्यक्ष १ र केन्द्रीय सदस्य ७६ जनासमेत गरी कुल ११५ जना रहने व्यवस्था छ ।

त्यस्तै, केन्द्रीय लेखा समितिमा संयोजक १ र सदस्य ४ जना समेत गरी ५ सदस्य रहने व्यवस्था छ । यस्तै कुल १२० वटा पदमध्ये ११८ पदका लागि उम्मेदवारी परेको छ । दुई पदका लागि कुनै पनि मनोनयन दर्ता भएको छैन भने उम्मेदवारी परेका ३१ पदमा निर्विरोध निर्वाचित भएको घोषणा भइसकेको छ ।

मनोनयन दर्ता नभएको पदमा अल्पसंख्यक महिला कोटाको केन्द्रीय सदस्य र उपत्यका महिला कोटाको केन्द्रीय सदस्य पद रहेको छन् । अल्पसंख्यक महिला केन्द्रीय सदस्यतर्फ १ जनाको कोटामा कुनै पनि मनोनयन दर्ता भएन । उपत्यका प्रदेशको महिला केन्द्रीय सदस्यमा २ जनाको कोटामा १ जनाको मात्रै मनोनयन दर्ता भयो । बाँकी ८७ पदका लागि भने आज निर्वाचन हुँदैछ । यसका लागि १७३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

 


Published :७ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media