सहिद जातको होइन राष्ट्रको हुन्छः एमाले अध्यक्ष ओली

राष्ट्रपाटी न्युज

७ श्रावण २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रजातान्त्रिक लडाइँमा सहभागी भएका सहिदहरुलाई सम्मान दिन नसकेको बताएका छन् ।

४४ औं पुष्पलाल जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘नेपाली कांग्रेसले प्रजातान्त्रिक लडाईंमा सहिद भएकाहरुलाई उचित सम्मान दिन कहिल्यै सकेको छैन’ ओलीले कार्यक्रममा भने, ‘भीमदत्त पन्तलगायतका सहिदलाई कहिल्यै आफ्नो सहिद नमानेको देख्दा अझै पनि मेरो शरीर सिरिङ्ग हुने गरेको छ ।’

एमाले अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट आन्दोलनमा पुष्पलालले पुर्‍याएको योगदानको चर्चा गरे । पुष्पलालले कम्युनिष्ट पार्टीको घोषणापत्र अनुवाद गरेर गाउँ-गाउँ पुर्‍याएको स्मरण गर्दै उनले अग्रजहरुले देखाएको बाटोबाट बिचलित नहुने प्रणसमेत गरे ।

एमाले अध्यक्ष ओलीले शहिदलाई जातीयकरण गर्न नहुने बताएका छन् । उनले जातका आधारमा नभई जो पहिले मारियो उसैलाई पहिलो सहिद मान्नु पर्ने बताए ।

“म इतिहासकारलाई अनुरोध गर्दछु । सहिद जातीय विषय होइन राष्ट्रिय आन्दोलनको विषय हो । जातीय शहीद नबनाउन”, उनले भने,  “जातको होइन राष्ट्रको शहिद हुन्छ । जो पहिलो मारियो उही पहिलो शहीद हो ।”

उनले परिवर्तनका लागि बलिदान गर्दा जुनसुकै पार्टीमा भए पनि त्यसपछि राष्ट्रिय सहिद हुने बताए ।


Published :७ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media