नागरिकता विधेयकविरुद्ध साउन १६ गते एमालेले विरोध प्रदर्शन गर्ने

राष्ट्रपाटी न्युज

८ श्रावण २०७९

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता र गठबन्धन टिकाउनका लागि नागरिकता विधेयक संसदबाट पारित गरिएको दाबी गरेका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा आज प्रेस चौतारी कर्णालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो दाबी गरेका हुन् ।

महासचिव पोखरेलले भने, ‘यो सरकारको नालायकीपन हो। सत्ता र गठबन्धन टिकाउने गरिएको सम्झौता हो ।’

महासचिव पोखरेलले गठबन्धन र प्रधानमन्त्रीका लागि सत्तारुढ दलका नेताहरु विदेश धाउन थालेको भन्दै यो लज्जाको विषय भएको टिप्पणी गरेका छन् ।

विगतमा नागरिकता विधेयक रोक्ने काम माओवादी केन्द्रकै तर्फबाट भएको र प्रचण्ड भारतबाट फर्किएलगतै माओवादीकै अग्रसरतामा नागरिकता विधेयक पारित गरिनुले शंका पैदा गरेको पोखरेलले बताएका छन् ।

नागरिकता विधेयक पारित गरेपछि असन्तुलन पैदा भएको पोखरेलको भनाइ छ। ‘नेपाली चेलीहरुले जुन अधिकार भारतबाट प्राप्त गरेका छन्, त्योभन्दा बढी सुविधा दिने कुरा उचित हैन,’ महासचिव पोखरेलले भने। नागरिकता विधेयकविरुद्ध यही साउन १६ गते एमालेले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेको जानकारी पनि महासचिव पोखरेलले दिए ।


Published :८ श्रावण २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media