काठमाडौं । मंकीपक्सको संक्रमणबाट बच्न पूर्व तयारी शून्य रहेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा एमाले सांसद योगेश भट्टराईले मंकीपक्सले सम्पन्न देशहरुलाई समेत हायलकायल बनाएको बताए ।
भारतमा समेत चार वटा केस देखिएको भन्दै उनले नेपाल भयानक अवस्थाबाट टाढा नरहेको बताए । सीमा नाकामा कडाइ तथा चेकजाँच गर्ने, आमजनतालाई सचेत गराउने जस्ता कदम चाल्नुपर्ने भन्दै एमाले सचिव भट्टराईले भने, ‘तर नेपाल सरकार मौन बसेको छ, सरकार निद्राको अवस्थामा छ ।’
हालसम्म विश्वमा १८ हजार १९४ जना संक्रमित भएको र ५ जनाको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको उनले सुनाए ।