सुरक्षा घेरा तोड्दै इराकमा प्रदर्शनकारी संसद् भवन प्रवेश

राष्ट्रपाटी न्युज

१२ श्रावण २०७९

बग्दाद । इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरूले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन् । सुरक्षाकर्मीहरूले संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई केहीबेर रोके पनि ठूलो भीड भवनभित्र छिरेको सुरक्षा स्रोतले एएफपीसँग पुष्टि गरेको छ ।

उनीहरूले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरिरहेका छन् । गत अक्टोबरमा भएको आम निर्वाचनमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन । संसद् भवन प्रवेश गरेका प्रदर्शनकारीहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरे पनि अन्ततः उनीहरू संसद् भवनभित्र छिर्न सफल भएका थिए ।

प्रदर्शनकारीहरू प्रवेश गरेको समयमा संसद् भवनमा कुनै पनि सांसदहरू उपस्थित थिएनन् । प्रदर्शनकारीहरूको भीड सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहने ग्रिन जोनमा प्रवेश गरेको थियो । यो क्षेत्रमा विभिन्न देशका दूतावाससहित राजधानीस्थित सबैभन्दा महत्त्वपूर्ण भवनहरू छन् ।

इराकका प्रधानमन्त्री मुस्तफा अल–खादिमीले प्रदर्शनकारीहरूलाई संसद् भवन छोड्न आग्रह गरेका छन् भवनभित्र छिरेका प्रदर्शनकारीहरू नाचगान गर्दै टेबलहरूमा सुतेका थिए। नौ महिना लामो गतिरोधपछि इराकमा अशान्ति सुरु भएको हो । त्यहाँ देशका विभिन्न राजनीतिक समूहहरूबीचको विवादका कारण निर्वाचनपछि नयाँ सरकार गठन हुन सकेको छैन ।

इराकमा अमेरिकी हस्तक्षेपको विरोध गर्दै आएका शिया धर्मगुरु सदरको दलले अक्टोबरको निर्वाचनमा जीत दाबी गरेको थियो । तर, आफ्ना प्रतिद्वन्द्वीसँग सहकार्य गर्न सदर तयार नभएपछि उनको दलले सरकार निर्माणका लागि गठबन्धन बनाउन सकेको छैन । (रासस/एएफपी)

 


Published :१२ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media