म्याग्दी पहिरो अपडेटः थप तीनको शव फेला, एकै परिवारका पाँचजनाको मृत्यु

राष्ट्रपाटी न्युज

१७ श्रावण २०७९

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-२, रुमको तामेङ गाउँमा पहिरोमा परी हराइरहेकामध्ये तीनजनाको शव फेला परेको छ । मङ्गलबार बिहान करिब ३ बजे बस्ती माथिबाट खसेको पहिरोले दुई घर बगाएपछि सम्पर्कविहीन भएका एकै परिवारका तीनजनाको शव पुरिएको अवस्थामा भेटिएको वडा सदस्य भक्तबहादुर पुनले बताए ।

वडा सदस्य पुनले भने, “पहिरोबाट शव निकालिएको छ, मृतक सबै एकै परिवारका हुन, बिहान दुई जनाको शव भेटिएको थियो, अहिले तीन जनाको भेटिएको छ।”

खोज तथा उद्धारमा बिहानैदेखि खटिए पनि भीषण बर्षा र निरन्तरको पहिरोले उद्धारमा समस्या भएको थियो । पहिरोमा पुरिएको अवस्थामा बिहान नवीन र रुजन विकको शव निकालिएको थियो भने घामबहादुर विक, राजु विक र रोजी विकको शवसमेत निकालेर कानुनी प्रक्रियाको काम भइरहेको छ ।

बेपत्ता भएका उनीहरुको खोजीका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोलीसहित स्थानीयवासी घटनास्थल पुगेका थिए । बस्तीमाथिबाट पहिरो खसेको आवाज आएपछि भाग्दाभाग्दै गोठे र गोरी विक घाइते भएका थिए । पहिरोस्थलबाटै गोरीको उद्धार गरिएको थियो भने गोठे नजिकै घाइते अवस्थामा भेटिएका हुन् ।

घाइतेको रुम स्वास्थ्यचौकीमा उपचार गरी मौसम अनुकूल भएपछि थप उपचारका लागि दरबाङ पठाउने तयारी भइरहेको छ ।

यसैबीच बाढीपहिरोको जोखिममा रहेकालाई सुरक्षित स्थानमा जान समेत अनुरोध गरिएको छ ।


Published :१७ श्रावण २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media