नागरिकता विधेयक खारेजीको माग गर्दै राष्ट्रपतिसमक्ष ज्ञापनपत्र

राष्ट्रपाटी न्युज

१७ श्रावण २०७९

काठमाडौं । नागरिकता विधेयक खारेजीको माग गर्दै पाँचवटा वामपन्थी पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

नेकपा (क्रान्तिकारी माओवादी) का सीपी गजुरेल,नेकपा (बहुमत) का कञ्चन, नेकपा (मसाल) का सन्तबहादुर नेपाली, नेपाल कम्युनिस्ट पार्टीका लोकनारायण सुवेदी र संयुक्त क्रान्तिकारी मोर्चाका नारायण शर्माले संयुक्त रुपमा राष्ट्रपति भण्डारीलाई विधेयक खारेजीको माग गर्दै मंगलबार ज्ञापनपत्र बुझाएका हुन् ।

‘हाल राष्ट्रपतिज्यू समक्ष प्रमाणीकरणका लागि भनी जुन विधेयक प्रस्तुत भइरहेको छ, त्यसले दक्षिण एसियाका अरु देशहरूको नागरिकता प्राप्तिका प्रवन्ध र प्रावधानसँग पनि कुनै तादम्यता राख्दैन’, ज्ञापनपत्रमा भनिएको छ, यो विधेयक संसद्ले मात्र पारित गरेर पुग्दैन । यसका निमित्त सर्वपक्षीय सहमति आवश्यक छ ।’

यसबारे व्यापक मात्रामा छलफल र बहस गरी सर्वपक्षीय सहमति कायम गरेर मात्र अन्तिम रूप दिन संसद्मा नै फिर्ता पठाउन उनीहरुले माग गरेका छन् ।

नागरिकता संशोधन विधेयक तत्काल खारेज गर्न सरकारलाई दबाब दिँदै केही दिनदेखि काठमाडौंमा प्रदर्शन समेत भइरहेको छ ।

नागरिकता ऐन (पहिलो संशोधन) विधेयक २०७९ संसदका दुवै सदनबाट पारित भएसँगै अहिले सामाजिक सञ्जालदेखि सडकसम्म विरोध भइरहेको छ ।


Published :१७ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media