क्षेत्र नम्बर ४ (ख) मा होला त, जयराम थापाको ‘जय’ ?!

राष्ट्रपाटी न्युज

१७ श्रावण २०७९

काठमाडौं । आमनिर्वाचनको मिति घोषणा हुने तयारी हुँदै गर्दा देशब्यापी रुपमा चुनावी माहोल तात्दै गएको छ। आगामी निर्वाचनमा संघीय एबम प्रदेश माननीय बन्न र पार्टीबाट टिकट पाउन भित्र भित्रै बिबिध चलखेल शुरु भैसकेको चर्चा हुन थालेको छ। खासगरी मुख्य ठुला दलका नेताहरुको घर घरमा टिकट दावी गर्दै दौडधुप बढ्न थालेका बिबिध बिषयहरु उजागर हुँदै छन्।

यसै सन्दर्भमा देशको राजधानी काठमाडौंको क्षेत्र नम्बर ४ बिशेष चर्चामा छ। नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका स्थाई कमिटि सदस्य डा राजन भट्टराई बीच रोचक प्रतिष्पर्धा हुने करिव निश्चित भएर पनि होला, यस क्षेत्रमा सबैको नजर परेको छ।

संघीय साम्सदको प्रतिष्पर्धीहरु करिव निश्चित भएपनि प्रदेश माननीयमा भने दुवै पार्टीमा दावेदारहरुको लामो सुची बन्न सक्ने अवस्था छ। खासगरी क्षेत्र नम्बर ४ को प्रदेश (ख) मा पनि दुवै पार्टीको तर्फबाट बिबिध चर्चा परिचर्चाहरु चल्न थालेका छन्। नेपाली कांग्रेसको हकमा गठबन्धन चर्चाले तै चुप मै चुपको अवस्था छ। गठबन्धन भएमा नेकपा एकीकृत समाजबादीवाट हालका माननीय कुशुम कुमार कार्कीले टिकट पाउने करिव निश्चित भएकाले नेपाली कांग्रेसका दावेदारहरु खासै चर्चामा देखिदैनन्। तर २०७९ साल बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा यस क्षेत्रका सबै वडामा वडाध्यक्ष जितेको नेकपा एमाले वृतमा भने चुनावी पारो चढीसकेको छ।

पछिल्लो समय बुढानिलकण्ठ नगरपालिकाका १,२ ,८,९,१०,११,१२ र १३ वडा रहेको काठमाण्डौ क्षेत्र नं ४ (ख) मा टिकट दावेदारको रुपमा चर्चामा आएको एउटा नाम हो जयराम थापा। उनले निर्वाचनको तयारी शुरु गर्दै आन्तरिक भेटघाट एबम प्रचार प्रसार सुरु गरिसकेको एकजना एमाले नेता बताउंछन्।

हाल नेकपा एमाले काठमाडौं जिल्ला कमिटि सदस्य रहेका उनि बूढानीलकण्ठ क्षेत्र विकास समितिका पुर्व अध्यक्ष हुन्। बौद्धिक छवि बनाएका उनि जवाहरलाल नेहरु विश्वविध्यालय भारतबाट अन्तर्राष्ट्रिय कुटनैतिक कानुनमा पिएचडी गर्दै गरेका अधिवक्ता समेत हुन्। वि. सं. २०५२ सालदेखि नेकपा एमालेको संगठित सदस्य रहेका थापाले क्षेत्र नं. ४ मा बुद्धिजिवी कमिटीको ईन्चार्जदेखि नेकपा एमाले केन्द्रिय संस्कृति विभागको सदस्यका रुपमा राजनीतिक योगदान पुर्याएका थिए भने नेकपा एमाले निकट प्रगतिशिल कानुन व्यवसायी संगठन (पिपिएलए) पाटनको अध्यक्ष हुँदै केन्द्रिय कमिटी सदस्यका रुपमा पेशागत योगदान दिएका छन। लिभरपुल इन्टरनेशनल कलेजमा एक दशक भन्दा बढी कार्यकारी निर्देशकका रुपमा शैक्षिक क्षेत्रमा सक्रिय थापा अहिले बुढानीलकण्ठ- २ मा रहेको गणेश माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका छन् ।

केन्द्रिय नेताहरु सँगको राम्रो चिनजानका कारण पनि उनि हरेक निर्वाचनमा दावेदारको रुपमा देखा पर्छन। तर आफ्नै वडा बूढानिलकण्ठ २ मा उनलाई सबैभन्दा धेरै चुनौती छ। निबर्तमान मेयर उद्धव खरेल पुन दावेदारको रुपमा प्रस्तुत भएपछी उनका लागि यो बिषय पहिलो गाँसमै ढुंगा लागेजस्तो भएको छ। संग संगै नेकपा एमालेका स्थानीय सिनियर नेता बिदुर बिक्रम खड्का समेत यस निर्बाचनमा सशक्त दावेदारको रुपमा रहेका छन्।

स्थानीय श्रोतका अनुसार थापाले निबर्तमान मेयर उद्दव खरेलसंग समेत उनको निवासमा नै आफूलाई सहयोग गर्न आग्रह गर्न पुगेका थिए। तर खरेलले अहिले त्यो अबस्था नबनिसकेको भन्दै थापालाई कडा जवाफ दिएर फर्काइदिएका थिए।

क्षेत्र नम्बर ४ को भुगोलको राजनितिमा कम सक्रिय रहेका कारण उनलाई टिकट दिलाउने भन्दा रोक्ने खोज्नेहरु धेरै देखिन्छन। नेकपा बिभाजन पछि नेकपा एमाले समेत बिभाजन हुँदा थापा केहि समय एकीकृत समाजबादी निकट बन्न पुगेका थिए। तर केहि समय पश्चात उनि आफू नेकपा एमालेमा नै रहेको भन्दै पुन एमालेमै नै सक्रिय रहेको घोषणा गरेका थिए। राष्ट्रपाटि डट कम मार्फत उनले उक्त प्रश्टोक्ति दिएका थिए। यसै बिषयलाई लिएर पनि उनिमाथि धेरैले प्रश्न उठाउने गरेको एकजना स्थानीय एमाले नेता बताउँछन्।

काठमाडौं क्षेत्र नम्बर ४ मा विजय हाँसिल गर्नु नेकपा एमाले र डा राजन भट्टराईका लागि आफैमा चुनौतीपूर्ण त छदैछ, त्यसमाथि प्रदेश क र ख मा छानिने उम्मेदवारहरुले त्यसलाई ठुलो असर पार्ने निश्चित नै छ। स्थानीय तहको निर्बाचनमा मिठाराम अधिकारिलाइ बूढानिलकण्ठ नगर प्रमुख बनाउन ठुलो भूमिका निर्वाह गरेका डा भट्टराईका लागि यो बिषय पेचिलो बनेको छ। तत्कालिन अबस्थामा पुन बूढानिलकण्ठ नगरपालिकाको प्रमुखमा टिकट पाउने ढुक्क जस्तै भएर बसेका र अन्तिम समयमा नपाएका उद्दव खरेलको व्यबस्थापनको पाटो भट्टराईका लागि सबैभन्दा जटिल बिषय हो। त्यसरी हेर्दा काठमाडौं क्षेत्र नम्बर ४ प्रदेश (ख) मा खरेल सबै भन्दा शसक्त दावेदार देखिन्छन भने त्यसपछि मात्र जयराम थापा , बिदुर बिक्रम खडका ,श्रीकृष्ण श्रेष्ठ , लक्ष्मी संग्रौला ,राजन पोख्रेल , रमा राई लगायतको सम्भावना रहने सहजै अनुमान गर्न सकिन्छ।
बाँकी सबै समयको गर्वमा छँदैछ।

 


Published :१७ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media