बाढीका कारण मेलम्ची-हेलम्बु सडकखण्ड अवरूद्ध

राष्ट्रपाटी न्युज

२१ श्रावण २०७९

सिन्धुपाल्चोक । लगातारको वर्षापछि आएको बाढीका कारण हेलम्बु-मेलम्ची र पाँचपोखरी सडकखण्ड अवरुद्ध भएको छ।

ग्यालथुम, चनौटे, तालामाराङ, सिमखेतलगायत ठाउँमा बाढीसँगै पहिरो जाँदा मेलम्ची-हेलम्बु सडकखण्ड अवरूद्ध भएको हो ।

सडक अवरूद्ध भएपछि काठमाडौंसम्म चल्ने सार्वजनिक यातायातका साधन तथा एम्बुलेन्स बाटोमै फसेका छन् । बाढीका कारण मेलम्ची नगरपालिका–११ सिमखेतमा सडकमा राखिएका दुई एस्काभेटर बाढीमा डुबेका छन् ।

यस्तै बाढीले मेलम्ची खानेपानी आयोजनाको सिन्धु अडिटमा समेत क्षति पुर्‍याएको छ। गएराति पहिरो जाँदा पाँचपोखरी थाङपाल गाउँपालिका–८ तिपेनीमा पनि सडक अवरूद्ध भएको छ । बजार क्षेत्रको १९ घर जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए। अहिले उक्त ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार बाढीले पुर्‍याएको क्षतिका बारेमा यकिन हुन नसकेको बताए । ‘निरन्तर वर्षा हुँदा बाढी आउने क्रम जारी छ,’ उनले भने।

हेलम्बु-५ मा पाँच घर, विद्यालय र सडक उच्च जोखिम छ। गएराति पहिराले भोटेचौर-काउले सडकसमेत अवरूद्ध बनेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

 


Published :२१ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media