एक्लै लडे कांग्रेसले एक सिट पनि जित्दैन: खगराज अधिकारी

राष्ट्रपाटी न्युज

२६ श्रावण २०७९

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता खगराज अधिकारीले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा दलहरु एक्लाएक्लै लडे आफ्नो पार्टीले एक्लै दुई तिहाई बहुमत नल्याए राजनीतिबाट सन्यास लिने बताएका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा अधिकारीले एक्लाएक्लै लडे कांग्रेसले एक सिट पनि नजित्ने उनले दाबी गरे । अधिकारीले भने,‘एक्लाएक्लै लडे कांग्रेसले एक सिट पनि जित्दैन् । अब कांग्रेस एक्लै लड्न नसक्ने भयो । कांग्रेस एक्लै लड्न आओस्, हामी दुई तिहाईभन्दा बढी सिटमा जित्छौं । यदि हामीले दुई तिहाईभन्दा बढी सिट जितेनौं भने म राजनीति छोडिदिन्छु ।’

नेता अधिकारीले अहिलेको पाँचदलीय गठबन्धनलाई वित्तीय गठबन्धनको संज्ञा दिए । उनले भने,‘एमाले माक्र्सवाद–लेनिनवादमा विश्वास गर्छ । अहिलेको गठबन्धन वित्तिय गठबन्धन हो ।’ अधिकारीले कांग्रेसले एसपीपी अर्को ढंगले अघि बढाउन खोजेको गम्भीर आरोप लगाए । उनले पार्टीको अर्थ विभागमा रहेको नाम एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको स्पष्ट पारे ।

उनले अहिलेको सरकारको कारण देश जटिल अवस्थामा पुगेको सुनाए । उनले भने,‘पेट्रोलियम पदार्थको मूल्यको कुरा गर्दा, घटाउनुपर्ने बेलामा १५, १५ दिनमा मूल्य समायोजन हुनुपर्नेमा अहिलेसम्म गरेको छैन । यसले प्रत्यक्ष रुपमा जनता महँगीको मारमा परेका छन् । एक्सपोर्ट–ईम्पोर्टमा आधारित हाम्रो अर्थतन्त्रलाई हामीले उत्पादनको वृद्धि गरेर, स्वदेशी पुँजी निर्माण गरेर दलाल पुँजीलाई विस्थापित गर्न खाजेका थियौं । संघीयतालाई गतिलो तवरले कार्यान्वयन गर्नुपर्छ ।’

उनले देशको परराष्ट्र नीतिमा अहिले गम्भीर चुनौती खडा भएको सुनाए । उनले भने,‘एकाबिहानै हाम्रो राष्ट्रको अस्तित्वमाथि चुनौती आउने त होइन भनेर अहिले चिन्ता बढेको छ, ताइवान नजिकै त्यस्ता घटना जो भइरहेका छन्, त्यसले अन्तर्राष्ट्रिय शक्तिको खेलमैदान नेपाल नहोस् भनेर हामी सचेत भएर जानुपर्छ । कहीँ हामी असंलग्न परराष्ट्र नीतिबाट विचलित त छैनौं ? भन्ने पनि प्रश्न उठेको छ ।’


Published :२६ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media