कोरोनाबाट थप ५ जनाको मृत्‍यु, ८१५ जना थपिए नयाँ संक्रमित

राष्ट्रपाटी न्युज

२६ श्रावण २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८१५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने कोरोना संक्रमणबाट ५ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको परीक्षणमा ८१५ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४११जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र २ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जना संक्रमित थपिएका हुन् ।

यस्तै बिहीबार कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४७६ जना संक्रमणमुक्त भएका छन् ।

जसमध्‍ये ५ हजार ६७७ जना होम आइसोलेसनमा रहेका छन् भने १९२ जना संस्थागत आइसोलेसन र ६० जना आईसीयूमा छन् ।

यस्तै ८ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३८ हजार ४४५ पुगेको छ ।

१० वर्ष मुनिका ६ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११देखि २० वर्ष उमेर समूहका ३६ जनामा कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै हालसम्‍म कोरोना संक्रमणबाट ९ वर्ष मुनिका ५१ जना बालबालिकाको मृत्‍यु भइसकेको छ भने १० देखि १९ वर्ष उमेर समूहका ५७ जना, २० देखि २९ उमेर समूहका ३८१ जना, ३० देखि ३९ वर्ष उमेर समूहका ९६५ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।


Published :२६ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media