आज देशभर जनैपूर्णिमा, गाईजात्रालगायत पर्व मनाइँदै

राष्ट्रपाटी न्युज

२७ श्रावण २०७९

काठमाडौं । आज एकैदिन धेरैवटा पर्व परेका छन् । जनैपूर्णिमा, रक्षाबन्धन, गाईजात्रा, ऋषितर्पणी, क्वाँटी खाने दिन र संस्कृत दिवस आज परेका छन् ।

यस वर्षको ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा आज विविध कार्यक्रम गरी देशभर मनाइँदै छ । यस वर्ष रक्षाबन्धन र गाईजात्रा एकैदिन पर्न गएकोले आज दुवै पर्व मनाइँदै छ ।

यस वर्षको जस्तो तिथिको अवस्था विसं २०७०, २०६१, २०५५, २०३१, २०३०, २०२४ र १९९४ मा भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी, सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराई र कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । ती वर्षमा पनि रक्षाबन्धनकै दिन गाईजात्रा पर्व मनाइएको थियो ।

साउन २६ गते सूर्योदयको दुई घडीपछि पूर्णिमा तिथि लाग्छ ।

साउन २७ गते चार घडीभन्दा कम पूर्णिमा तिथि छ । पूर्णिमा तिथि टुटेको समितिले जनाएको छ । यस्तो अवस्थामा साउन २७ गते नै रक्षाबन्धन पर्व मनाउनुपर्ने शास्त्रीय वचनअनुसार समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएकाले भ्रममा नपरी त्यसैअनुरूप पर्व मनाउन समितिले आह्वान गरेको छ ।

हिन्दू धर्मावलम्बीहरूले आज जनैपूर्णिमा अर्थात् ऋषि तर्पणी पर्व मनाउँदै छन् । जनै लगाउनेहरूले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी, अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको जनै लगाउने गर्छन् । आजकै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रही आएको छ । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा विष्णु महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ । तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ ।

यो दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाट लगायतका धार्मिक क्षेत्रमा ठूलो मेलासमेत लाग्ने गर्दछ । तराई क्षेत्रमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेकामा पछिल्ला वर्षमा पहाडी क्षेत्रमा पनि राखी बाँध्न थालिएको छ । नेवार समुदाय भने यस पर्वलाई गुन्हु पुन्हीका रूपमा मनाउने गरिएको छ ।

जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रूपमा पनि लिइन्छ ।

यसैगरी भाद्रकृष्ण प्रतिपदाका दिन मनाइने गाईजात्रा पर्व आज देशभर मनाइँदै छ । काठमाडौं उपत्यकाका काठमाडौं भक्तपुर, पाटनसहित विशेष गरी नेवार समुदाय बसोबास भएका ठाउँमा गाईजात्रा पर्व मनाइन्छ । मृत्यु भएको एक वर्ष नपुगेका आफन्तका परिवारले गाईजात्राका दिन मृतक आफन्तको सम्झनामा उनीहरूको तस्बिरका साथै पुतलाहरू बनाएर आ–आफ्ना इलाका परिक्रमा गराउने प्रचलन छ ।

गाई र मानिसलाई सिँगारी मृतक आफन्तको प्रतिमाका साथ सहर परिक्रमा गर्दै मृतकका आफन्तले फलफूल, मिठाई, दूध, दहीलगायत विभिन्न खानेकुरा र द्रव्य दान गर्ने प्रचलन छ ।

यसरी नगर परिक्रमा गर्नाले मृत्यु भएका व्यक्तिले मुक्ति पाउने धार्मिक विश्वास रहेको छ । गाईजात्रा पर्वको सुरुवात राजा प्रताप मल्लले गराएको मानिन्छ । राजा प्रताप मल्लले पुत्रको मृत्युले शोकले विह्वल भएकी आफ्नी रानीलाई फकाउनका लागि हाम्रो छोरा जस्तै धेरैका आफन्त मरेका छन् भनी देखाउन आ–आफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएको बताइन्छ ।

यतिले पनि रानीको मन शान्त हुन नसकेकाले गाईजात्रा पर्वमा विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप आजसम्म सोही मान्यताअनुसार यो पर्व मनाइउने गरिएको छ । आजदेखि आठ दिनसम्म लगातार विभिन्न जात्रा पर्वहरू मनाउने प्रचलन छ ।

यसैगरी प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (ऋषि तर्पणी) को दिन पारेर मनाउन थालिएको विश्व संस्कृत दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विसं २०७५ देखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो । संस्कृत भाषामा रचना भएका ग्रन्थमा रहेका ज्ञान प्रचारप्रसारमा सहयोग पु-याउने उद्देश्यले आजको दिन यो विश्व संस्कृत दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । संस्कृत भाषाको संवर्धन तथा प्रवर्धनका लागि विश्व संस्कृत दिवस मनाउन लागिएको हो ।

श्रावण शुक्ल पूर्णिमा ऋषिहरूसँग जोडिएको ऋषि तर्पणीको दिन भएकाले यो दिन विश्व संस्कृत दिवस मनाउन थालिएको हो । ऋषिले नै वेदका मन्त्र ध्यान दृष्टिका माध्यमबाट देखेकाले पनि यसै दिन संस्कृत दिवस मनाउन उपयुक्त हुने भएकाले यसको सुरुवात गरिएको हो ।


Published :२७ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media