शेखर कोइरालाले आफूनिकट नेताहरुसँग छलफल गर्ने

राष्ट्रपाटी न्युज

२९ श्रावण २०७९

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूनिकट नेताहरुसँग छलफल गर्ने भएका छन् ।

सो छलफल आज दिउँसो २ बजे बालुवाटारस्थित सम्पर्क कार्यालयमा हुने भएको छ । आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आवश्यक रणनीति तय गर्न छलफल गर्न लागिएको नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले जानकारी दिए ।

छलफलमा दोस्रो तहका नेता र भातृ संस्थाका नेताहरुलाई बोलाइएको छ । यसअघि बत्तिसपुतलीको एक पार्टी प्यालेसमा भएको छलफलमा उठेका विषय कोइरालालाई जानकारी गराउने र भावी रणनीति तय गरिने नेताहरुले बताएका छन् ।

५ भातृ संस्थाको अध्यक्ष तोक्ने क्रममा आफ्नो समूहसँग परामर्श नगरी एकलौटी गरेको भन्दै कोइराला पक्ष पार्टी सभापति शेरबहादुर देउवासँग रुष्ट छ । यसअघि सो समूहका नेता-कार्यकर्ताहरुले पार्टी कार्यालय सानेपामा विरोध प्रदर्शन गरेका थिए ।


Published :२९ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media