मिटरव्याजीदेखि त्राहिमाम सरकारको औचित्य छैनः प्रेम सुवाल

राष्ट्रपाटी न्युज

२९ श्रावण २०७९

काठमाण्डौ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान सरकारको कुनै औचित्य नभएको बताएका छन् ।

खराब ठेकेदार, मिटरव्याजीदेखि त्राहिमाम हुने, खराव उद्योगी, व्यापारी, मिसावट गर्ने कालाबजारी, तस्करदेखि डराएकाले सरकारको औचित्य नभएको उनको भनाइ थियो । आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले काठमाडौंका धेरैवटा सडक निर्माणको काम अलपत्र पारेर बसेको निर्माण कम्पनी शैलुङ कन्सट्रक्सनलाई अभिलम्ब आफूले जिम्मा लिएको ठेक्काको काम पूरा गराउन पनि सरकारसँग माग गरे ।

मिटरव्याजीले डेढ लाख ऋणको ८० लाख ब्याज असुलेको भए पनि वर्तमान सरकारले उनीहरुमाथि कारबाहीको कुनै पनि ठोस कदम चाल्न नसेकेकोमा उनले आक्रोश समेत व्यक्त गरे ।

सांसद सुवालले सरकारमा गइसकेका राजनीतिक दलहरुको सरकारले काठमाडौं उपत्यकामा देखिएको फोहोरमैला, धुवाधुलो र प्रदुषणको समस्या समाधान गर्न नसक्ने दावी समेत गरे । उनले सांसदहरुले नै कर्जा प्रवाहमा हालीमुहाली गरेको देखिएको आरोप लगाउँदै सो सम्बन्धमा तत्काल छानवीन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।


Published :२९ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media