दोहोरो अंकले घट्यो सेयर बजार

राष्ट्रपाटी न्युज

२९ श्रावण २०७९

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ ।

बजार परिसूचक नेप्से २७.९२ अंकले र सेन्सिटिभ सूचक ४.७६ अंकले घटेको हो । आइतबार २२७ कम्पनीको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यसअनुसार ३८ हजार ४ सय १८ पटकको खरिदबिक्रीमा ४५ लाख ५९ हजार कित्ता सेयर बिक्री भएको हो । बिक्री भएको सेयर १ अर्ब ८७ करोड ३२ लाख रुपैयाँ बराबरको भएको नेप्सेले जनाएको छ । बिहान ११ बजे खुलेको बजार एक घण्टासम्म उक्लिए पनि त्यसपछि निरन्तर गिरावट हुने क्रममा नेप्से २०१०.०१ विन्दुमा झरेर बन्द भएको हो । आज सबै उपसूचक राताम्य हुन पुगेका छन्।

आज १८ कम्पनीका लगानीकर्ताले कमाएका छन् । तीमध्ये अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले ८.१० प्रतिशत अर्थात् प्रतिकित्ता ११.६० रुपैयाँ कमाइ गरे पनि अन्य कम्पनीका लगानीकर्ताले ३ प्रतिशत पनि कमाउन सकेनन् । गुमाउने कम्पनीका लगानीकर्ताले ७.०९ प्रतिशतसम्म गुमाएका छन् । आज बजारमा हिमालयन डिस्टिलरीको सर्वाधिक १६ करोड ५३ लाखको सेयर कारोबार भएको छ । त्यसबाहेक नेपाल लाइफ इन्स्योरेन्सको ११ करोडको, शिवम् सिमेन्टको ८ करोड रुपैयाँको कारोबार भएको छ । आज बजार पुँजीकरण २८ खर्ब ७० अर्ब र तरलता ११ खर्ब ७७ अर्बको रहेको छ ।


Published :२९ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media