गठबन्धनले मुलुकलाई बर्बाद पार्छः एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले संसदमा फिर्ता पठाएको नागरिकता विधेयकलाई जस्ताको तस्तै फिर्ता पठाउने सत्तारुढ गठबन्धनको निर्णयप्रति आपत्ति जनाएका छन् ।

अध्यक्ष ओलीले संसदले एक पटक विचार गरोस् भनेर राष्ट्रपतिले पठाएको सो गम्भीर महत्वको विधेयकलाई संसदबाहिरै बसेर सत्तारुढ गठबन्धनले सो निर्णय गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे ।

बुधबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले संसदमा सो विधेयकको विषयमा बहस समेत गर्न नदिएर सत्तारुढ गठबन्धनले ‘आफूलाई खोपडी नभएको मसले’ का रुपमा प्रस्तुत गरेको जिकिर गरे ।

संसदीय अभ्यासको समेत ख्यालै नगरी सत्तारुढ गठबन्धनले आफ्नो बहुमतको तागत देखाइदिने भन्दै सो विधेयक राष्ट्रपतिलाई जस्ताको तस्तै फिर्ता पठाउने निर्णय गरेको अध्यक्ष ओलीको भनाइ थियो । सत्तारुढ गठबन्धनको सो निर्णयमा बहुमतको घमण्ड चढेको उल्लेख गर्दै उनले त्यस्ताहरुको हातमा देश चल्न नसक्ने बताए ।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले मुलुकलाई बर्बाद पार्ने भएकाले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउनुपर्ने पटकपटक दोहो-याए ।

अध्यक्ष ओलीले काँग्रेस लोकतान्त्रिक पार्टी नरहेको दावी समेत गरे । प्रचण्डको कार्यकर्ता बनेर हिँडिरहेको काँग्रेस आचरण, नीति र व्यवहार सबै हिसाबले लोकतान्त्रिक हुनै नसक्ने उनको तर्क थियो ।

ओलीले विगतमा पनि काँग्रेसले देशविरोधी कार्य गर्दै आएको र पछिल्लो समय यसले लोकतान्त्रिक आचरण र व्यवहारसमेत गुमाएको आरोप लगाए । उनले माओवादी केन्द्र पार्टी नभई प्रचण्ड एण्ड कम्पनी भएकाले त्यसका बारेमा टिप्पणी गरिरहन आवश्यक नै नरहेको बताए ।


Published :१ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media