काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट आज पारित गर्ने तयारी गरिएको छ ।
आज बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गर्ने कार्यसूची तय गरिएको छ ।
आज गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकमाथि सदनमै पुनर्विचार गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । उक्त प्रस्तावमा सांसदहरुले आफ्नो धारणा राख्नेछन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका दलहरूको बैठकले राष्ट्रपतिले प्रमाणीकरण नगरी प्रतिनिधि सभामै फिर्ता पठाइदिएको नागरिकता विधेयकलाई पुनः अघि बढाउने सहमति गरेको थियो ।
नागरिकता विधेयकमा यसअघि नै राखिएका प्रावधानलाई संशोधन नगरिकन नै संसदबाट पास गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने गठबन्धनका दलहरूले निर्णय गरेका छन् । सरकारले दोस्रोपटक प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
प्रतिनिधिसभा नियमावलीको नियम १३६ अनुसार राष्ट्रपतिबाट पुनर्विचारको लागि सन्देशसहित विधेयक फिर्ता भएपछि सभालाई जानकारी दिइन्छ ।